सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको क्वारेन्टिनमा श्रीमानद्वारा आत्महत्या, श्रीमतीले क्रिया गर्न समेत पैसा पाइनन्

२०७७ असार १८, ०५:१८ प्रकाश सिंह

बाजुरा: २४ वर्षदेखि भारत बस्दै आएका बाजुराको बडीमालिका नगरपालिका –२ माँझीगाउँकी कलमती दमाईको ६ जनाको परिवार कोरोना कहरले नेपाल फर्कियो। कलमतीका बिरामी श्रीमानसहित ६ जनाको परिवार जेठ २८ गते बाजुरा पुगेका थिए।  

उनको परिवार बाजुरा पुगेलगत्तै बडीमालिका नगरपालिका –२ भौनेरामा रहेको सत्यवादी माविको क्वारेन्टिनमा बसेका थिए। तर, क्वारेन्टिनमा बसेको दुई दिनमै उनका श्रीमान भुप्रेन्द्र दमाइले आत्माहत्या गरे। लामो समयदेखि दमका रोगी रहेका भुप्रेन्द्र आर्थिक अभावले गुज्रीरहेका थिए। भारतको दिल्लीमा बस्दै आएकी कलमतीले अरुको घरमा काम गरेर श्रीमानको उपचार र परिवार पालिरहेकी थिइन्।

तर नेपाल आएपछि उनीमाथि ठुलै बज्रपात भएको छ। कलमतीका ४५ वर्षीय श्रीमानले जेठ ३० गते शुक्रबार साँझ क्वारेन्टिनमा आत्महत्या गरेका थिए। मृत्युपछि उनको स्वाब संकलन गरेर धनगढी पठाइएको थियो। र, उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। 

कलमतीको गाउँमा जग्गा–जमीन केही छैन्। घर समेत नभएकी उनीसँग श्रीमानको मृत्युपश्चात क्रियादेखि सेतो कपडा किन्न समेत पैसा थिएन। उनले श्रीमानलाई आफैले बोकेर क्वारेन्टिन नजिकै गाडेकी थिइन। ‘श्रीमान मर्दा सेतो लुगा लगाउन पैसा थिएन। अन्य १३ दिनसम्म गर्नुपर्ने काजक्रिया त धेरै परको विषय हो’ कलमतीले रुँदै भनीन, ‘श्रीमानको शव बेर्ने लुगादेखि धुप बाल्न समेत पैसा थिएन।’ 

यती मात्रै होइन उनको समस्या त अब सुरु भएको छ। बिरामी श्रीमानको मृत्यपछि अब उनको परिवारमा ४ जना छोराछोरी छन्। उनलाई परिवार कसरी पाल्ने भन्ने पिरलो छ। ‘अहिले वडा कार्यालयले दिएको ३० किलो चामलले छाक टारिरहेका छौं। घर छैन अरुको घरको गोठमा बस्दै आएका छौ’ उनले भनीन, ‘पहिले भारतमा काम पाएको थिएं यहाँ त काम पनि छैन। कसरी परिवार पाल्ने होला भन्ने चिन्ता लागेको छ।’ 

आत्महत्या गर्नुपर्ने अन्य कुनै कारण नभएकाले आर्थिक अभावका कारण उपचार गर्न नसक्दा नै श्रीमानले त्यो निर्णय गरेकोे हुनसक्ने कलमतीको अनुमान छ। अहिले कलमतीको परिवार आरडीटी जाँचगरेपछि गाउँकै एकजनाको घरमा आश्रय लिइरहेका छन्। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस