सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘कैलालीमा ठूलो झुण्डमा सलह किरा आएको छैन्, झुण्डबाट छुट्टिएर आएको हुनसक्छ’

२०७७ असार १५, ०५:५७ खबर संवाददाता

धनगढी: गत शनिबार नेपाल प्रवेश गरेको सलह किरा कैलालीमा पनि देखिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका, कैलारी गाउँपालिका र बर्दगोरीयामा सलह किरा देखिएको हो। लम्किचुहा नगरपालिका वडा नम्बर १ थकालिपुरको बारिमा सलह देखिएको स्थानिय लक्ष्मी रावलले जानकारी दिए।

रावलले सलहलाई आफुहरुले मारेर राखेको पनि बताए। उता कैलालीको बर्दगोरीया गाउँपालिकामा सलह किरा देखिएको छ। बर्दगोरीया गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक राम प्रसाद देवकोटाले पनि सलह देखिएको बताए। 

यता प्रदेशको भूमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले सलह किरा कैलालीमा पनि देखिएको बताए। ‘सलह किरा ठूलो झुण्डमा छैन्,’ उनले भने, ‘कुनै झुण्ड बाट छुट्टिएर कैलाली पुगेको हुनसक्छ। भोलीसम्म विभिन्न स्थानमा प्राविधिको टोली पठाउने तयारी भईरहेको छ।’

यस्तै सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह फट्यांग्रा संकलन गरेर ल्याए २५ रुपैयाँ दिने यसअघि नै निर्णय गरिसकेको छ। कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका भएर सलहको समूह भित्रिन सक्ने भएकाले चारवटा तहमा क्षति कम गर्न आवश्यक तयारी पनि थालिएको कृषि मन्त्रालयले जनाएको छ।

सलहको समूह आएर बाली खान थालेमा होहल्ला गरेर भगाउन तथा विषादी, जाल आदिको प्रयोग गर्न कृषकहरूलाई आग्रह गरिएको प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए।

कमेन्ट लोड गर्नुस