सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुम्लाको दुर्गम गाँउ मैला पुगेर बिरामीको उपचार गर्दै डाक्टर केसी

२०७७ असार १३, ०४:१३ प्रकाश सिंह

बाजुरा: चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी कर्णाली प्रदेशका दुर्गम गाउँमा पुगेका छन्। उनी हुम्लाको ताजाकोट गाउँपालिका –२ मा रहेको मैला स्वास्थ्यचौकी पुगेर बिरामीको उपचार गरिरहेका छन्। 

बिहिवार स्वास्थ्यचौकी पुगेर केसीले बिरामीको चेकजाँचसँगै उपचार गरिरहेका फेजनेपाल नामक गैरसरकारी संस्थामा कार्यरत अनमी अनिता श्रेष्ठले जानकारी दिइन। स्वास्थ्यचौकीमा सेवा दिन केसी पुगेपछि उपचार गर्न आउने बिरामीको निकै घुइँचो लागेको श्रेष्ठले बताइन्। केसी बाजुराको सदरमुकाम मार्तडीबाट तिन दिन पैदलै हिडेर त्यहाँ पुगेका हुन। 

केसी पुगेको ठाँउ नेपालको सबैभन्दा दुर्गम ठाउँका रुपमा चिनिन्छ।  हुम्लाको सदरमुकाम सिमकोटबाट त्यहाँ पुग्न चार दिन बढी समय लाग्ने गरेको छ। भने बाजुराको सदरमुकाम मार्तडीबाट पनि त्यहाँ पुग्न तीन दिनभन्दा बढी समय लाग्ने गरेको छ। 

स्वास्थ्य सेवाका हिसाबले निकै पछाडी रहेको उक्त क्षेत्रमा डाक्टर केसी पुग्दा बिरामीलाई ठुलो राहत मिलेको स्थानीय चक्रबहादुर मल्लले बताए। ‘उपचार गर्न बाहिर जान पैसा थिएन,  डाक्टर केसी गाउँमै रहेको स्वास्थ्यचौकीमा पुगेपछि उपचार गराए’ ताजाकोट गाँउपालिका २ का मनबहादुर रोकायाले भने। उनले थपे, ‘हाम्रो यहाँ त स्वास्थ्यकर्मी समेत आउन मान्दैनन्। तर डाक्टर नै यहाँ आएर सेवा दिँदा खुसी लागेको छ।’ 

केसी मैला स्वास्थ्यचौकीमा आइतबारसम्म बिरामीको उपचार गर्नेछन्। केसीले यसअघि सुुदूरपश्चिम प्रदेशका दुर्गम गाउँमा पुगेर सेवा दिइरहेका थिए।  निःशुल्क औषधि समेत वितरण गरिरहेका डाक्टर गोविन्द केसी डडेल्धुराबाट हुम्ला पुगेका हुन्। दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर अन्य पहाडी जिल्लामा घुम्ने क्रममा बुधवार मात्रै बाजुराको कोल्टी पुगेका उनले आइसोलेसनमा रहेका बिरामीको उपचार गरेका थिए। 

बेलाबेलामा मेडीकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथाअनियमित व्यवस्थाको विरोध तथा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए। गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए। तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमाविवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९औं दिनमा स्थागित भएको थियो।

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस