कैलालीमा कोरोना रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाइएका ५ जनामा संक्रमण पुष्टि
धनगढी : कैलालीमा कोरोना रिपोर्ट नेगेटिभ आएको भन्दै क्वारेन्टिनबाट घर पठाइएका पाँच जनामा संक्रमण पुष्टि भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ६ का पाँच जनालाई कोरोना रिपोटै नेगेटिभ आएको भन्दै घर पठाएको दुई दिनपछि संक्रमण पुष्टि भएको हो।
उनीहरुलाई त्रिपुरा सामुदायिक वनको क्वारेन्टिनमा राखिएकोमा वडा कार्यालयले रिपोर्ट नेगेटिभ आएको भन्दै दुई दिन अगाडी घर पठाएको थियो। संक्रमण पुष्टि भएपछि उनीहरुलाई फेरी क्वारेन्टिनमा राखिएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक ईश्वरी प्रशाद भुसालले जानकारी दिए।
‘रिपोर्ट नेगेटिभ आएको हो भनेर हामीलाई वडा कार्यालयलाई भनेका थिएनौ,’ उनले भने, ‘दुई दिन अगाडी ४८ जनामा संक्रमण पुष्टि भएको छ भनेका थियौँ। बाँकीको रिपोर्ट नेगेटिभ आएको होला भनेर घर पठाइएको रहेछ। अहिले फेरी उनीहरलाई क्वारेन्टिमा राखेका छौ।’
गौरीगंगा नगरपालिकमा अहिलेसम्म एक सय पाँच जनामा संक्रमण पुष्टि भईसकेको छ। रिपोर्ट नआउँदै घर पठाउने क्रम बढेपछि समुदाय स्तरमा भने त्रास बढेको छ।