सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषकलाई निःशुल्क फलफूलका बिरुवा

फाइल फोटो
फाइल फोटो
२०७७ असार १२, ०८:३६ रासस

पाल्पाका स्थानीय तहले वषर्नैंदेखि बाँझा रहेका जमीनमा फलफूल खेतीतर्फ स्थानीयवासीलाई प्रोत्साहन गर्न निःशुल्क बिरुवा उपलब्ध गराएका छन्। रामपुर नगरका कृषकलाई कागती १० हजार, सुन्तला एक हजार र  अमिलो जातका तीन सय बिरुवा निःशुल्क वितरण गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए।

आर्थिक विकास समिति संयोजक हुमनाथ न्यौपाने वनमारा र रुख बिरुवाले बाँझिन पुगेका जग्गामा कागती र सुन्तला लगाएर उत्पादन लिन सकिने भएकाले नगरले खाली जमीनमा बिरुवा लगाऔँ आम्दानीको स्रोत लिऔँ भन्ने अभियानमा लागेको बताए।

यस्तै रम्भा गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक कार्यक्रमनुसार १० हजार ७३० बिरुवा कृषकलाई निः शुल्क वितरण गरिएको सूचना अधिकारी भक्तजंग रानाले जानकारी दिए। उक्त पालिकाले लिची, कागतीलगायत फलफूलका बिरुवा निःशुल्क वितरण गरेको हो।

 गाउँपालिकाका वडा नं १ हुँगी र ३ को पीपलडाँडा लिची उत्पादनका लागि उपयुक्त ठाउँ हुन्।  कागती खेती सबैजसो वडामा उत्पादन हुने कृषि प्राविधिक बताउँछन्। निस्दी गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत करीब सात हजार बिरुवा कृषकलाई उपलब्ध गराउन लागेको कृषि शाखा प्रमुख खिमराज कोइरालाले जानकारी दिए।

त्यसैगरी बगनासली गाउँपालिकाले कागती १४ हजार, लिची र आँप दुईदुई हजार, सुन्तला पाँच हजार ५००, केरा एक हजार ७००, कफी ५०० र अंगुर, अम्बालगायत अन्य तीन हजार बिरुवा वितरण गर्ने कार्यक्रम राखेको कृषि शाखा प्रमुख राजेश बोहरा बताए। यो क्षेत्र फलफूलमध्ये कागती र सुन्तला मुख्य उत्पादन हुने क्षेत्रका रुपमा  परिचित छ।
 

कमेन्ट लोड गर्नुस