सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले पुरस्कार रकम दिन खेलाडीको विवरण माग्यो

२०७७ असार १२, ०८:१२ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई पुरस्कार रकम दिन बैंक खाताको विवरण मागेको छ। कोरोना महामारीका कारण कार्यक्रम गर्न सम्भव नभएपछि बैंक खातामा पुरस्कार रकम पठाउनका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले विवरण मागेको हो।

हाल कोरोना महामारीका कारण कार्यक्रम गरी पुरस्कार रकम दिन नसकिने भएकाले सिधैं खेलाडीको बैंक खातामा रकम पठाउन विवरण माग गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयको सूचनामा खेलाडीको नाममा रहेको बैंक खाता र खाता नम्बर, नागरिकताको प्रमाणपत्रको प्रतिलिपी सो नभएमा स्थानीय तहको स्थायी बसोबासको व्यहोरा उल्लेख भएको सिफारिसपत्र, वैवाहिक कारणबाट प्रदेशको प्रतिनिधित्व गर्ने महिला खेलाडीको हकमा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपी र खेलाडीको पदक प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपी, सम्पर्कनम्बर सहितको विवरण सामाजिक विकास मन्त्रालयले माग गरेको छ।

असार २० गतेभित्र विवरण पेस गर्न समयसीमा दिइएको छ। नेपालमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता सुदूरपश्चिम प्रदेशका खेलाडीहरुलाई प्रदेश सरकारले नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो। पु

स १ गते बसेको मन्त्रीपरिषद्को बैठकले सागमा स्वर्ण, रजत र काश्य पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो। मन्त्रीपरिषद्को बैठकले सागमा दुई वा दुईभन्दा बढी स्वर्ण पदक विजेता खेलाडीलाई जनही दुई लाख, एक स्वर्ण जित्ने खेलाडीलाई डेढ लाख, रजत विजेता खेलाडीलाई एक लाख र काश्य पदक विजेता खेलाडीलाई ७५ हजार नगद सहित सम्मान गर्ने निर्णय गरेको थियो।

मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले हालसम्मकै उच्च पदक हात पारेको थियो। प्रतियोगितामा सुदूरपश्चिमका खेलाडीले मात्र नेपाललाई १२ स्वर्ण, ३१ रजत र ३० कास्य पदक दिलाएका थिए। सुदूरपश्चिम क्षेत्रबाट एकल र समूहतर्फ गरी ५९ पुरुष तथा महिला खेलाडी सहभागी थिए।
 

कमेन्ट लोड गर्नुस