‘उप–महानगरपालिका चलाएको १० बर्ष भयो, दुई करोड बोकेर हिड्ने मान्छेमा पर्छु म’
धनगढी : देश संघिय संरचनामा गएपछि २०७४ सालको असारमा स्थानीय तहको निर्वाचन भएको थियो। लामो समयदेखि जनप्रतिनिधि विहिन बनेका साविकको स्थानीय निकाय तथा अहिलेका स्थानीय तहले सोही निर्वाचनपछि जनप्रतिनिधि पाए।
धनगढीमा नेपाली काँग्रेसबाट राजनीति गर्दै आएका नृपबहादुर वड पनि असारमै भएको निर्वाचनमा मेयरमा विजयी भए। २०७४ असार २४ मा उनी मेयरमा निर्वाचित भएका थिए। उनलाई मेयरको पदभार सम्हालेको अब तीन वर्ष पूरा हुँदैछ। तर उनै मेयर नृपबहादुर वडले धनगढी उप–महानगरपालिका चलाएको आफूलाई १० वर्ष भएको दावी गरेका छन्।
बुधबार नगरसभालाई सम्बोधन गर्दै वडले भनेका छन्, ‘तीन वर्षको कुरा मात्र होईन् धनगढी उप–महानगरपालिका मैले चलाएको १० वर्ष हुन लाग्यो। यो १० वर्षमा आर्थिक चलखेल गरेको भए म अहिले करोडपति भईसक्थे।’ आफ्नो उक्त भनाईलाई खण्डन गर्दै मेयर फेरी थप्छन्, ‘किनभने हिजो पनि म प्रमुख जस्तै थिए।
अहिले आधिकारिक प्रमुख हुँ भने हिजो नगरपालिकामा संयन्त्रको प्रमुख थिए। कुनै क्षेत्र, चौक, व्यक्ति, कुनै ठेकेदारलाई नृप वडले आर्थिक बारेमा कुरा गरेको छ भने आज अहिले नै पदबाट राजिनामा गरिदिन्छु।’ मेयर वडले राहतमा वितरण गरिएको चामलमा आर्थिक अनियमितताको आरोप लागेपछि यस्तो उल्लेख गरेका हुन्।
राहतको चामल प्रकरणमा मेयरले दिएको जवाफ यस्तो थियो
यहाँहरुलाई थाहा छ, दुई करोड ६१ लाखको हामीले टेण्डर खोल्यौँ। त्यो दुई करोड ६१ लाखको सबै सामान नगरपालिकाले बुझिसकेको थियो। सम्झौतामै भनिएको छ, कुनै सामान नराम्रो आएको छ भने त्यो सामानलाई रिफ्रेस गरिनेछ। अस्ती पनि भनेको थिए। तपाईहरुलाई मेरो इन्टरभ्यु सुन्नुभयो की भएन? हेर्नु भयो की भएन? धनगढी उप–महानगरपालिकामा सबै साथीहरु विश्लेषणात्मक मिडियामा काम गरिरहेका छन्। हरेक राम्रो विषय अगाडी बढाएका छन्। हरेक नराम्रो गरेको विषयलाई नराम्रो भनेर अगाडी बढाएका छन्।
तर दुई प्रतिशत मिडियाका साथीहरु, सामान्य कुरालाई पनि पहाड बनाउने संस्कार बसेका छन्। यस्तो परस्थिती सिर्जना गरिदियो की वास्तममै आत्महत्या गर्नुपर्छ भन्ने जस्तो लाग्यो मलाई। त्यो दुई करोड ६१ लाख सधै बोकेर हिड्ने मान्छेमा पर्छु म। त्यो इतिहास हो मेरो। दुई करोड ६१ लाखमा व्यापारीलाई आम्दानी कति भएको होला ? ५ लाख, ६, लाख, ७ लाख, ८ लाख, १० लाख कति भएको होला? अनी त्यो व्यापारीले नृप वड र प्रमुख प्रशासकिय अधिकृतलाई कति पैँसा दियो होला ? लौँ भन्नुस् त, कति दियो होला ? उसलाई १० लाख रुपँैँया फाईदा भयो मलाई कति दियो होला ? ५ लाख या १० लाख नै मलाई दियो होला।
अनी मेरो राजनीतिक स्तर १० लाखको हो। ४६ वर्ष मेहनत गरेर मेयर भाछु, लाईफ सुरु भएको छ मेरो। म त्यो पाँच लाख ६ लाख १ भ्रष्टाचार गरेर डुब्नुपर्यो भने करोडको गर्छु मैले सिधिनु नै पर्ने भए अबौँको भ्रष्टाचार गर्छु नी। त्यो दुई लाख, चार लाख, पाँच लाख खल्तीमा बोकेर हिड्छु। त्यसैले यसमा तपाईहरु ढुक्क भए हुन्छ।
र भ्रष्टाचार मात्र हैन् तीन वर्षको कुरा मात्र होईन् धनगढी उपमहानगरपालिका मैले चलाएको १० वर्ष हुन लाग्यो। यो १० वर्षमा मैले आर्थिक चलखेल सुरु गरेको भए म अहिले करोडपति भईसक्थे। किनभने हिजो पनि म प्रमुख जस्तै थिए। अहिले आधिकारिक प्रमुख हुँ भने हिजो नगरपालिकामा संयन्त्रको प्रमुख थिए। कुनै क्षेत्र, चौक, व्यक्ति, कुनै ठेकेदारलाई नृप वडले आर्थिक बारेमा कुरा गरेको छ भने आज अहिले नै पदबाट राजिनामा गरिदिन्छु।