धनगढीमा असारे विकासको चटारो, बिना इस्टिमेट योजना सम्झौता
धनगढी : डिभिजन वन कार्यालय धनगढीले तीन लाख ३० हजारको बजेटमा उधनगढी प–महानगरपालिकाको वडा नम्बर ७ मा निर्माण गर्ने सिर्जना स्मृती पार्कका लागि जेठमा उपभोक्ता समिति गठन गरेको छ।
सोही पार्कमा थप झण्डै चार लाख बजेट पारेको धनगढी उपमहानगरपालिकाले पनि असार ३ गने स्थानीय सरस्वती चन्दको अध्यक्षतामा उपभोक्ता समिति गठन गर्दै नगर प्रमुख नृपबहादुर वडले शिलान्यास समेत गरिसकेका छन्। तर उपमहानगरपालिकाले पार्कको डिजाईन इस्टिमेट समेत बनाएको छैन्।
उक्त योजना कार्यान्वयन गर्न दुवै निकायले एउटै समिति गठन गरेका छन्। सिर्जना स्मृती पार्क निर्माण उपभोक्ता समितिकी उपाध्यक्ष अनिता रावलले पार्क निर्माणको कार्य जारी रहेको बताईन्। ‘उप–महानगरपालिकाले डिजाइन इस्टिमेट त दिएको छैन्। तर हामीले काम जारी राखेका छौँ।’ रावलले भनिन्।
वडा नम्जर ७ जस्तै धनगढी उपमहानगरपालिकालाई अहिले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण भन्दा पनि योजना सम्झौता र शिलान्यास गर्ने चटारो लागेको छ। उपमहानगरपालिकाले जेठ १९ गते यता वार्षिक बजेटमा छनौट भएका करोडौँका योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गरेको छ भने कतिपयमा ठेक्का सम्झौता नै गरिएको छ।
वडा नम्बर ४ मा सडक ग्रावेल, कालोपत्रे, विद्यालय प्रयोगशालाका संचना निर्माण लगायतका तीन करोड बढिका आधा दर्जन बढि योजना कार्यान्वयनका लागि जेठ २७ गते यता उपभोक्ता समिति गठन गरी सम्झौता गरेको छ। वडा नम्बर ४ का अध्यक्ष दीपक थापाले भने यसै आर्थिक बर्षभित्र सम्पन्न हुने योजनाका लागि मात्रै उपभोक्ता समिति गठन गरेको बताए।
वडा नम्बर ४ मा जस्तै अन्य वडामा पनि करोडौँका योजना जेठ १९ पछि उपभोक्ता समिति र निर्माण व्यवसायसँग सम्झौता गरी कार्यान्वयन गर्ने तयारी थालिएको छ। जसमा संघिय सरकारले वार्षिक रुपमा दिदै आएको अनुदानको बजेटका योजना, प्रदेश र प्रतिनिधीसभाका सांसदका योजना लगायतका छन्।
धनगढी उपमहानगरपालिकाको योजना तथा बजेट शाखा प्रमुख सत्यराज जोशीले भने सम्बन्धीत निकायबाट ढिलोगरी अख्तियारी प्राप्त हुदा समस्या भएको बताए। ‘आर्थिक बर्षको अन्त्यमा योजना सम्झौता भएकै हो,’ उनले भने, ‘तर काम हेरेर मात्रै हामीले भुक्तानी दिनेछौ।’
कोरोना भाईरसको महामारी र आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहेका बेला कर्मचारी र जनप्रतिनिधीले हतार हतारमा योजना कार्यान्वयन गर्न थालेपछि बजेटको दुरुपयोग हुने आशंका गरिएको छ।