सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मृत भेटिएका युवकको अन्तिम फोन, ‘अपहरणमा परे मलाई बचाउ साथी’

२०७७ असार ८, १२:४७ खबर संवाददाता

धनगढीः  धनगढीबाट चार दिन अघि वेपत्ता भएका डोटीको पूर्वीचौकीका १८ वर्षीय युवक ठक्करबहादुर खड्का आईतबार गेटा सामुदायिक वनमा मृत भेटिए। कैलाली प्रहरीका अनुसार उनी गेटा सामुदायिक वनमा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

उनको हत्या वा आत्महत्या के हो ? भन्ने कुरा खुलेको छैन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले घटनाको अनुसन्धान जारी राखिएको बताएका छन्। अहिले नै उक्त घटनाबारे केही भन्न नमिल्ने प्रहरी नायब उपरिक्षक विष्ट बताउँछन्।

तर घटना रहस्यपूर्ण रहेको भन्दै मृतकका परिवारले निष्पक्ष छानविनको माग गरेका छन्। 

के थियो घटना ? 

ठक्करबहादुर खड्का, सेती प्राविधिक शिक्षालय दीपायलमा कृषि जेटिएको अध्ययन सकेर तीन महिना पहिले डोटीबाट धनगढी आएका थिए। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ को उत्तरबेहडीमा पूर्वीचौकीकै धर्म चिरालसँग डेरा गरी बस्दै आएका खड्काले क्याम्पसको पढाई पनि सँगसँगै अघि बढाएका थिए।

चितवनबाट कृषि जेटिएको प्रयोगात्मक सकेर ११ कक्षाको परीक्षा दिन उनी धनगढी आएको चिराल बताउँछन्।  खड्काले आफूलाई इमोबाट फोन आएको र चिठ्ठा परेको कुरा उनीसँग भनेका थिए।

‘२५ लाखको चिठ्ठा परेकाले उक्त रकम पाउन ५५ हजार जम्मा गर्नुपर्ने ईमोबाट खड्कालाई सम्पर्क गर्ने व्यक्तिले भन्दै आएका रहेछन्।’ चिरालले भने, ‘मैले चिठ्ठा परेको नभएर कसैले तिमीलाई ठगिरहेको छ भनेर पटक–पटक सम्झाउँदा पनि उनले बुवासँग रकम मागेर बुझाएका रहेछन्। त्यो पछि मात्रै थाहा पाए।’

फेरी ईमोबाट फोन गरेर थप एक लाख ३५ हजार रुपैँया मागिरहेको कुरा पनि खड्काले उनलाई भनेका थिए। उनले तिमीलाई ठगेको हुनसक्छ त्यसो नहोला भन्दै सम्झाएपछि खड्काले ईमोबाट फोन गर्ने व्यक्तिसँग कुरा गरे। तर उताबाट अरुलाई चिठ्ठा परेको कुरा नभन्न भनेका रहेछन्।

असार ४ गते दिउँसो १२ बजेको समयमा नास्ता ल्याउँछु भन्दै कोठाबाट निस्केका थिए उनी। तर तीन बजे मात्र कोठा फर्किए। नुहाएर खड्का फेरी दिउँसो बजारतीर निस्केका थिए। चिराल भन्छन्, ‘भर्खर बजारबाट नै आयौँ फेरी कता जादैछौँ भनेर सोध्दा केही पनि बताएनन्।’

बजारबाट खड्काले साँझ ६ बजेको समयमा दुई पटक फोन गरेपनि आफू निदाएकाले थाहा नपाएको उनको भनाई छ। ‘निन्द्रा खुलेपछि सम्पर्क गर्दा उसको फोनको स्वीच अफ थियो।’ तर राती ८ बजेर २८ मिनेटमा आफैले फोन गरेर उनलाई खड्काले आफूलाई बचाउन आग्रह गरेका थिए। ‘म अपहरणमा परे, मलाई चार जनाले लखेट्दैछन्, गेटाको जंगलमा लुकेर बसेको छु साथी मलाई बचाउ...।’

अन्तिम पटक खड्काले भनेको कुरा स्मरण गर्दै चिरालले भने, ‘मैले उसलाई तिमी रोडतीर आऊ, जंगलतीर नजाऊ भनेको थिए। तर ऊ कहिल्यै नफर्किने गरी गयो।’ त्यसपछि खड्काको फोन अफ हुँदा उनले कुरा गर्न पाएनन्। खड्काले चिराललाई मात्र नभएर आफ्ना दाईलाई समेत फोन गरेर आफू समस्यामा परेकाले बचाउन भनेका थिए।

उनका दाईले नै प्रहरीलाई खबर गर्न भनेपछि तत्काल उनले एक सय नम्बरमा फोन लगाए। तर त्यो फोन चितवन प्रहरीकोमा गयो। पछि चिरालले अस्थायी प्रहरी विट चटकपुरमा पुगेरै घटनाबारे जानकारी गराए। लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले राती गेटा जंगलमा खोजी गरेको थियो।

खड्कालाई खोज्दै जादा आईतबार मात्र गेटा सामुदायिक वनमा उनी झुण्डिएको अवस्थामा भेटिए। उनी गेटा प्रहरी चौकी नजिकै झुण्डिएको अवस्थामा भेटिएका हुन्। अहिले मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। तर घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस