कैलालीमा कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय सरकार गम्भीर नबन्दा जोखिम
धनगढी : कैलालीमा कोरोना संक्रमण बढ्दै गएपनि रोकथाम तथा नियन्त्रणमा स्थानीय तहको तयारी फितलो देखिएको छ। सुदूरपश्चिमको राजधानी समेत रहेको कैलालीमा प्रदेशमै अहिले सम्म सबैभन्दा बढि दुई सय २९ जना संक्रमित भेटिएका बेला कोरोना रोकथाम तथा नियन्त्रणमा उदासिनता देखाईएको हो।
जिल्लामा स्थानीय तहले निर्माण गरेका क्वारेन्टिन व्यवस्थित नभएको जनगुनासो बढिरहेका बेला आईसोलेसन वार्ड निर्माणमा समेत कन्जुसाई गरिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले समेत कम्तीमा ५० शैयाको आईसोलेसन वार्ड निर्माण गर्न स्थानीय तहलाई निर्देशन दिईसकेका बेला कैलालीमा भने न्यून संख्यामा मात्र आईसोलेसन वार्ड निर्माणको तयारी पालिकाहरुले गरेका छन्।
प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको धनगढी उप–महानगरपालिकाले वडा नम्बर १५ को जडिबुटी प्रशोधन केन्द्रमा २८ शैयाको आईसोलेसन वार्ड निर्माण गरिरहेको छ। उपमहानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरीले प्रदेश सरकारबाट प्राप्त भएको ११ लाख बजेटबाट आईसोलेसन वार्ड निर्माण गरिरहेको बताए।
उनले सुरुवाती चरणमा २८ शैयाको आईसोलेसन वार्ड निर्माण गरेतापनि विस्तारै बृद्धि गर्दै लैजाने जानकारी दिए। धनगढी उमहानगरपालिकाले २८ शैयाको आईसोलेसन निर्माण गरिरहेका बेला कोरोना प्रभावित मोहन्याल गाउँपालिकाले त कुनै प्रक्रिया समेत थालेको छैन्।
सडक पूर्वाधार, स्वास्थ्यकर्मी लगायतका अन्य संरचनाको कारण देखाउँदै लक्षण देखिएका संक्रमितहरुलाई व्यवस्थापन गर्न नसकिने भन्दै गाउँपालिका पन्छीएपछि आईसोलेसन निर्माण नभएको हो। गाउँपालिकाका अध्यक्ष नवलसिह रावलले भौतिक पूर्वाधार र स्वास्थ्य जनशक्तिको अभावका कारण आईसोलेसन स्थापना नगरिएपनि टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका लगायतका स्थानीय तहसँगको समन्वयमा संयुक्त आईसोलेसन वार्ड निर्माण गरिरहेको बताए।
घोडाघोडी नगरपालिकाले १६ शैयाको आईसोलेसन वार्ड तयारी अवस्थामै राखेको भएपनि अहिले सम्म संक्रमितलाई राखिएको छैन्। नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिहले नयाँ निर्देशिका अनुसार नगर क्षेत्रमा भेटिएका संक्रमितलाई तत्काललाई होम आईसोलेसनमै बस्न भनिएको बताए।
उनले संक्रमितको संख्या बृद्धि हुँदै गएमा तथा निर्देशिका अनुार आईसोलेसनमा राख्नैपर्ने भए शैया तयारी अवस्थामै रहेको जनाए। तर संक्रमितलाई होम आईसोलेसनमै राखिएपछि समुदाय स्तरमा संक्रमण फैलिने चिन्ता व्यक्त गरिएको छ।सरकारले हालै जारी गरेको नयाँ निर्देशिकामा लक्षण नदेखिएका संक्रमितलाई होम आईसोलेसनमै राख्ने भनिएको छ।
तर संक्रमितहरु होम आईसोलेसनको व्यवस्थापन गर्न नसकेपछि समस्या भएको गुनासो गर्न थालेका छन् भने समुदाय स्तरमा समेत संक्रमणको जोखिम बढेको छ। स्थानीय तहमा निर्माण गरिएका सिमित शैयाका आईसोलेसन वार्ड समेत खाली रहेका हुन्।
यसै बेला संघिय सरकारले पनि स्थानीय तहमा आईसोलेसन र क्वारेन्टिन निर्माणका लागि भन्दै ३५ करोड बजेट छुट्याएको छ भने कैलालीका कतिपय स्थानीय तहले थप बजेट माग समेत गरेको पाईएको छ।