सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा आत्मदाह गरेका आउजीको परिवारलाई ५ लाख राहत र जागिर दिइने

२०७७ असार ५, ०८:०३ खबर संवाददाता

अछाममा आत्मदाह गरेका सिद्धार्थ आउजीको परिवारलाई राहत दिइने भएको छ। जिल्लाको बयालपाटा अस्पताल प्रशासनले आत्मदाह गरेका आफ्ना कर्मचारी आउजीको परिवारलाई राहत दिने भएको हो। 

जिल्लाका सरोकारवालाहरुसँगको छलफलमा राहतस्वरूप ५ लाख र आफूलाई रोजगारीको व्यवस्था गरिने बताइएको मृतककी श्रीमती गौरी आउजीले बताइन्। उनले सबैले सल्लाह गरेर क्रिया खर्च र राहत स्वरुप ५ लाख दिने र आफुलाई सोही अस्पतालमा रोजगारि दिने भनिएको बताइन्।

तर राहतले मात्रै केही नहुने बताउँदै उनले भनिन् अस्पतालअगाडि किन आत्मदाह गरे? त्यसको कारण चाहिन्छ। दोषी पत्ता लगाउनुपर्छ।’ राहत दिइने भने पनि सिद्धार्थ आउजीको मृत्यु भएको ११ दिन पुगिसकेको छ। तर गौरीले भने अहिले सम्म राहतको नाममा केही पनि नपाएको बताइन्।

साउन १७ गतेदेखि आफुलाई रोजगारीका लागि बयालपाटा अस्पतालमा बोलाउने कुरो भएको उनले बताइन्। उनका एक छोरा र एक छोरी छन्। उता अस्पतालले आर्थिक संकट भएको भन्दै निकालिएका अन्य ३२ जना कर्मचारीका बारेमा आगामी दिनमा के गर्ने भन्ने निर्णय गर्न सकेको छैन। गत जेठ २८ गते न्याय हेल्थ नेपालका अध्यक्ष सुरज वैद्यद्वारा जारी गरिएको विज्ञप्तिमा करार सम्झौता नवीकरण नहुने भनि गरिएको निर्णय तत्कालका लागि स्थगित गरिएको उल्लेख गरिएको छ।

विज्ञप्तीमा भनिएको छ, ‘सरोकारवालाको सुझावबमोजिम वैशाख ३१ गते बसेको संस्थाको कार्यकारिणी समितिले आगामी आव ०७७।७८ मा संस्थामा कार्यरत केही कर्मचारीहरुको करार सम्झौता नवीकरण नहुने भनी गरेको निर्णय हाललाई स्थगित गरिएको छ।’ संस्थाको दिगो व्यवस्थापनका लागि चालु खर्चका लागि आवश्यक अनुदान उपलब्ध गरिदिन स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारसँग विज्ञप्तिमार्फत नै अनुरोध गरिएको छ। 

‘जागिरबाट हटाइएकै कारण एक जनाको ज्यान गइसकेको छ। यहाँ सामान्य हिसाबकिताबमै सबै कुरा मिलाउन खोजिएको छ कामबाट हटाइएका एक कर्मचारीले भने, हामीलाई काममा फर्किनुहोस् भनेर अर्को सूचना पनि आएको छैन।’ ‘अहिले न्याय नपाएरै काममा फर्कियौं भने पनि फेरि यस्तै घटना दोहोरिन सक्छन्।’
 

कमेन्ट लोड गर्नुस