कोरोनाका कारण मृत्यु भएका कैलालीका दुई जनाको शव व्यवस्थापन
धनगढी : कोरोना संक्रमणका कारण मृत्यु भएका कैलालीका दुई जनाको शव व्यवस्थापन गरीएको छ। लम्कीचुहा नगरपालिकाकी महिला र गोदावरी नगरपालिकाका पुरुषको आज शव व्यवस्थापन गरिएको हो। सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका गोदावरी नगरपालिका वडा नम्वर १ का कोरोना संक्रमित पुरुषको नेपाली सेनाले शव व्यवस्थापन गरेको छ।
मृतकको शव मोहना नदी किनारमा मापदण्ड अनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। मृतकका आफन्तले भने टाढैबाट शव व्यवस्थापन हेर्न मात्रै पाएका थिए।
उता कोरोनाका कारण मृत्यु भएकी कैलालीको लम्कीचुहा नगरपालिकाकी महिलालाई बाँकेको जंगलमा शव व्यवस्थापन गरीएको छ। उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो भने मृत्युपछि कोरोना पुष्टि भएको थियो।
कोरोनाका कारण मृत्यु भए कसरी हुन्छ शव व्यवस्थापन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापन कार्यविधि बनाईसकेको छ। कोरोनाले मृत्यु भएका व्यक्तिको अन्तिम कर्म अन्य रोगी अर्थात् मृतकको जस्तो हुँदैन। सरकारले तयार पारेको कार्यविधि अनुसार शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य लगाउनुपर्छ।
कार्यविधि अनुसार अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने छ। शवलाई कमभन्दा कम चलाउने गर्नुपर्छ। कार्यविधिमा उल्लेख भए अनुसार शवमा लागेका पाइप, केथेटरलगायत सामग्री हटाउदाँ सर्तकता अपनाउनुपर्छ।
शवको कुनै भागबाट रगत बगिरहेको भए होसियारीपूर्वक बन्द गर्नुपर्छ। मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिन्छ तर, सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पु¥याउनुपर्नेछ।
६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नहुने कार्यविधिमा उल्लेख छ।
अन्तिम संस्कार गर्नु अघि आफ्नो कुल परम्परा अनुसार शव नछोई पानी छर्किने, पाठ गर्ने र फूलमाला चढाउने गर्नुपर्छ। मृतकका आफन्तले शव हेर्न चाहेमा नछोइकन कम्तिमा एक मिटर टाढाबाट एक–एक जनाले पालैपालो हेर्न पाउनेछन्।