सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा १७ जना कोरोना संक्रमितको उपचारमा एक्ली अनमी

२०७७ असार ४, १२:१५ प्रकाश सिंह

बाजुराको बुढिगंगा नगरपालिकाको धुरालसैन क्वारेनटाइनमा १७ जना कोरोना संक्रमितलाई राखिएको छ। उनीहरुको उपचारमा खटिएकी छन्, सेवा करारमा कार्यरत अनमी दिया सिंह। उनी कोरोना संक्रमणबाट आईसोलेसनमा ज्यान गुमाएकी दुई वर्षीया बालिकाको उपचारमा पनि खटिएकी थिईन्। धुरालसैन क्वारेन्टिनमा बसेका एक सय ८२ जनामध्ये १९ जनालाई कोरोना पुष्टि भइसकेको छ। सोही क्वारेन्टिनमा बसेकी दुई वर्षीया बाालिकाको जेठ १८ गते कोरोनाबाट मृत्यु भइसकेको छ।

संक्रमित १७ जना त्यही क्वारेन्टिनमा बसिरहेका छन्। ४ दिनको शिशुमा पनि कोरोना पुष्टि भएको छ, त्यो सँगै तीन वर्षीय बालिका, १४ वर्षीय बालक, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुषमा कोरोना देखिएको हो।

एकजना भने जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत छन्।  दियासिहं नगरपालिकाको करार सेवाकी कर्मचारी हुन्। अनमीको तलब स्केल २६ हजार ६ सय १० भएपनि उनी मासिक १६ हजारमा काम गरिरहेका छन्।  

दिया भन्छिन्, ‘यो  बेला जागिर भन्दा पनि स्वास्थ्यकर्मीको दायित्व र मानवीय सेवा मेरो कर्म पनि हो, म जागिर भन्दा पनि बिरामीको उपचारमा रमाउँछु।’ उनले थपिन्, ‘म यसै ठाँउको स्थानीय पनि हो, संकटको बेला उपचारमा नखटिएपछि स्वास्थ्यकर्मी भएको के अर्थ।

म फलोरेन्स नाईटिङगलको ईतिहास पढेर प्रेरित भएकी छु, तल्लो तहको कर्मचारी हुँ गाँउका समस्या व्यथा राम्रो सँग बुझेको छु, संकटमा काम गर्दा पो पढेको अर्थ र हाम्रो दायित्व पनि हो।’ नगर प्रमुख दिपक बिक्रम शाह भन्छन्, ‘दियाले यो संकटको बेला निकै राम्रो काम गरेकी छन्।

उनी करार सेवाकी कर्मचारी भएकाले विभिन्न कारण देखाएर जागिर छोडेर समेत जान सक्थीन्। तर त्यो उनमा छैन्।’ उनले बताए। स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्त भन्छन्, ‘दियाले निकै उत्कृष्ट काम गरेको छ, उसको ४ दिनको संक्रमित बच्चाले दुध खान छोडेको थियो, तर अहिले उपचारपछि निको भईसकेको छ।’

आईसोलेसनमा सके सम्म चिकित्सकको निगरानी नभइ हेल्थ असिस्टेन्ट तहको कर्मचारी हुनुपर्ने भएपनि १७ जना संक्रमितको उपचारमा भने अनमी खटिएकी हुन्।

   

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस