सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला–तिंकर सडक अन्तर्गत निर्माणाधीन घाेरेटाे बाटाेको निरीक्षण

२०७७ असार ४, ०८:२८ नरेन्द्र कार्की

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सरकारले यहि बैशाख १४ गते निर्माणको जिम्मा दिएको दार्चुला–तिंकर सडक  र सो अन्तर्गत अहिले निर्माणाधीन घोरेटोबाटोको क्षेत्रको निरीक्षण गरेका छन्।

सरकारले दार्चुला तिंकर सडकको ८७ किलोमिटर सडक नेपाली सेनालाई निर्माणको जिम्मा दिएपछि सो क्षेत्रको भौगोलिक अवस्थाबारे प्रधानसेनापति थापाले निरीक्षण गरेका हुन्। आर्थिक वर्ष २०६५/०६६ बाट निर्माण शुरु भएको दार्चुला तिंकर सडकको काम सुस्त भएपछि सरकारले पछिल्लो समय सो सडकको बाँकी काम नेपाली सेनामार्फत गराउने निर्णय गरेको हो। हाल दार्चुला तिंकर सडकको ४० किलोमिटर मात्रै ट्याक खुलेको  छ।

यो क्षेत्रमा अहिले नेपाली सेनाले थी भन्ने ठाउँमा बीओपी राखि अवरुद्ध घोरेटोबाटो निर्माणको कार्य शुरु गरेको छ। जेठ ९ गतेबाट नेपाली सेनाले ४५० मिटर क्षेत्रमा अवरुद्ध रहेको घोरेटोबाटोको निर्माण कार्य शुरु गरेपछि त्यो क्षेत्रको समेत प्रधानसेनापति थापाले निरीक्षण गरेका हुन्।  

नेपालतिर भएर व्यास गाउँपालिका १ जान बाटो नभएपछि यो क्षेत्रमा नेपाली सेनाले बाटो निर्माणको कार्य थालेको छ। सेनाले अहिलेसम्म झण्डै १२० मिटर घोरेटोबाटोको ट्याक खुलाएको दुर्गादल गुल्मका गुल्पति श्यामराजा विक्रम थापाले जानकारी दिए। 

घाटिबगर क्षेत्रमा अहिले सेनाले घोरेटोबाटोको ट्याक खोल्ने काम गरिरहेको छ। मौराभेल क्षेत्रमा अझै खुलाउन बाँकी छ। पूरै चट्टानी भूभाग भएको कारण ट्याक खोल्नमा ढिलाई भएको छ। 

प्रधानसेनापति थापाले निर्माण कार्यस्थल पुगेर निर्माणमा सावधानी अपनाएर काम गर्न निर्देशन समेत गर्नुभएको छ। सामरिक महत्वको व्यासको छांगरु तिंकर तथा कालापानी क्षेत्रसम्म जानको लागि आफ्नै भूमि भएर घोरेटोबाटो नहुँदा सरकारलाई बाटो खोल्नै पर्ने दबाब परेको थियो। 

भारतले एकतर्फी रुपमा नेपाली भूमि भएर सडक उद्घाटन गरेपछि यस क्षेत्रमा नेपाली सेनामार्फत चाडो भन्दा चाडो सडक निर्माण र घोरेटोबाटो खुलाउनुपर्ने बाध्यता छ। बाटो नहुँदा यहाँका व्यासी सौका समुदायले भारतीय बाटोको प्रयोग गरि गाउँ फर्किएका थिए। भने अन्य स्थानीयले अझै पनि आफ्नो गाउँ जान पाएका छैनन्। 

सेनाले थोरै भएपनि घोरेटोबाटो खुलाउने प्रयास गरेपछि स्थानीय समेत खुसी छन्। बाटो नहुँदा कयौं स्थानीय अहिले पनि गाउँ पुग्न सकेको छैनन् भने व्यासका स्थानीयको लागि खाद्यान्न ढुवानी हुन सकेको छैन्। सुरक्षा निकायको लागि हेलिकप्टरमार्फत खाद्यान्न र बन्दोबस्तीको समान ढुवानी गरिएको थियो।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस