सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला पुगेर आइजीपी खनालले भने, सीमामा बस्ने नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँछौ

२०७७ असार ३, ०३:२५ खबर संवाददाता

दार्चुला : सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालले दार्चुला सदरमुकाम खलंगामा निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाको भवनको उद्घाटन गरेका छन्।

व्यास गाउँपालिका १ छांगरुमा गत वैशाख ३१ गते स्थापना भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बीओपीको निरीक्षण गर्न दार्चुला पुगेका आइजीपी खनालले सोही अवसरमा दार्चुलामा निर्माण भएको भवनको उद्घाटन गरेका हुन्। 

व्यास गाउँपालिका १ छांगरु गागामा रहेको सशस्त्र प्रहरीको बीओपी निरीक्षण गरेर फर्किएपछि खलंगामा भवनको उद्घाटन गरेका हुन्। भवनको उद्घघाट गर्दै खनालले सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी जिल्लामा क्रियाशिल रहेको बताए। उनले भने, “सीमित स्रोत साधनका बीचमा सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्।” 

खनालले अहिले देशभरी सशस्त्रको बोर्डर आउट स्थापना भइरहेको र जिल्लामा पनि सशस्त्र प्रहरीको थप पोष्ट स्थापना छिट्टै हुने बताए। 

दार्चुला सदरमुकाम खलंगामा रहेको गुल्मलाई गण बनाइने छ भने व्यासको छांगरुमा सशस्त्रको गुल्म स्थापना हुने छ। यस्तै लेकमको लाली, मालिकार्जुनको जोलजीवि र व्यासको दुम्लीङमा बोर्डर आउट पोष्ट राख्ने सशस्त्रको तयारी छ।

सशस्त्र प्रहरीले दार्चुलामा भारतसँग सीमा जोडिएका १२५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्र सीमा निगरानी गरिरहेको खनालले बताए। 

“सीमामा बस्ने नागरिकलाई सुरक्षाको अनुभूति हुने गरी सशस्त्र प्रहरी खटिरहेको छ,” उनले भने, “सीमामा बस्ने नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने विश्वास दिलाउँछौ।” अहिले पनि सीमामा बस्ने नागरिक सन्तुष्ट रहेको भन्दै थप स्रोत साधनले भ्याएसम्म सशस्त्र प्रहरी परिचालन गरिने जानकारी दिए। 
सरकारले व्यासमा सशस्त्र प्रहरीको गुल्म स्थापनाको लागि भवन निर्माण गर्न ११ करोड बजेट विनियोजन गरेको छ। 

कमेन्ट लोड गर्नुस