कैलालीमा क्वारेन्टिनमै बलात्कारः घटनाबारे प्रधानमन्त्रीले सोधे गृहमन्त्रीलाई प्रश्न
कैलाली: प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको क्वारेन्टिइनमा भएको बलात्कारको घटनाबारे चासो दिएका छन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा उनले गत जेठ ३२ गते भएको बलात्कारको घटनाबारे गृहमन्त्री रामबहादुर थापासँग जानकारी लिएका छन्।
प्रधानमन्त्री ओलीले क्वारेन्टिनमा स्वंयसेवकबाट सामूहिक बलात्कारको घटना हुनु दुःखद र गम्भीर विषय रहेको बताएका थिए। उनले घटना कसरी घट्यो, क्वारेन्टाइनमा सुरक्षाकर्मीको उपस्थिति रहे नरहेको र आरोपी पक्राउको बारेमा गृहमन्त्री थापालाई प्रश्न गरेका थिए। त्यसपछि गृहमन्त्री थापाले आरोपित पक्राउ परेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी गराएका थिए।
साथै प्रधानमन्त्री ओलीले देशभरका क्वारेन्टिनको सुरक्षा ब्यवस्था बलियो बनाउन गृहमन्त्रीलाई निर्देशन समेत दिएका थिए।