एकै सिफ्टमा सञ्चालन हुँदैछन् बैतडीका सरकारी कार्यालय
बैतडी: गत साता बसेको मन्त्रीपरिषद् बैठकले बन्दाबन्दीको स्वरुप परिवर्तन गर्ने निर्णय अनुसार बैतडीमा पनि सरकारी कार्यालय खुलेका छन्। बन्दाबन्दीको ८३ दिनपछि आजदेखि सबै कार्यालय स्वास्थ्य र सुरक्षा मापदण्ड पालना गर्दै खुलेका हुन्।
तर सरकारले दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने भनेपनि बैतडीमा भने एकै सिफ्टमा सञ्चालन गरिएको छ। सरकारले पहिलो चरणमा बिहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो चरणमा १ देखि साँझ ६ बजेसम्म कार्यालय खुला गर्न सरकारले निर्देशन दिएको थियो। तर बैतडीमा भने कर्मचारी अभावमा दुई सिफ्टमा कार्यालय गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।
दुई सिफ्टमा सञ्चालन गर्ने भनेपनि कर्मचारी अभावका कारणले साविक समय अनुसार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म एकै सिफ्टमा कार्यालय खुल्ला रहने प्रजिअ जोशीले बताए।