निमोनियापछि सेती अस्पतालको आईसियुमा भर्ना गरिएका संक्रमितको अवस्था सुधारोन्मुख
धनगढी : सेती प्रादेशिक अस्पतालको आईसियुमा भर्ना गरिएका कोरोना संक्रमितको अवस्था सुधारोन्मुख देखिएको छ।
कोरोनाको संक्रमणपछि कडा खालको निमोनिया भएका गोदावरी नगरपालिका ४ का ४६ वर्षीय पुरुषको अवस्था आईतबार भन्दा केही सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
उपचारमा संलग्न अस्पतालका फिजिसियन डाक्टर निराजनदत्त शर्मा पौडेलले कडा खालको निमोनियाले गम्भीर भएका संक्रमितको अवस्था केही सुुधारोन्मुख देखिएको बताए।
तर आईसियुमा राखेर कृत्रिम अक्सिजन दिईरहेकाले अहिले नै केही भन्न सकिने अवस्था नभएको बताउँदै डाक्टर पौडेलले ती पुरुष निको हुने विश्वास व्यक्त गरे।
कञ्चनपुरको गड्डाचौकीबाट यात्रुलाई क्वारेन्टिन पुगाउने बसका चालक समेत रहेका ती पुरुषमा शनिबार राती कोरोना पुष्टि भएको थियो।
नवजिवन अस्पतालको आईसियुमा राखेर उपचार गराईरहेको अवस्थामा कोरोना पुष्टि भएपछि आईतबार बिहान सेती अस्पताल भर्ना गरिएको थियो।
नवजिवन अस्पतालमा जान अघि उनी धनगढीकै माया मेट्रो अस्पतालमा पनि गएका थिए। माया मेट्रो अस्पतालले भर्ना हुनुपर्ने सुझाव दिएकोमा उनी भर्ना नभई सिधै घर गएको थिए भने अर्को दिन नवजिवन अस्पताल आएका थिए।