सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली क्वारेन्टिन बलात्कार प्रकरण :तोडफोड गरेको भन्दै वडा कार्यालयद्धारा सेवा बन्द

२०७७ असार १, ०८:१५ खबर संवाददाता

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ को क्वारेन्टिनमा भएको सामूहिक बलात्कार प्रकरणलाई लिएर वडा कार्यालयले सेवा बन्द गरेको छ। उक्त विषयलाई लिएर जनप्रतिनिधिहरुलाई गालीगलौज र तोडफोड भएको भन्दै वडा कार्यालयले कारवाहीको माग सहित सेवा बन्द गरेको हो।

वडाध्यक्ष जनकबहादुर बमले  विज्ञप्ती जारी गर्दै जनप्रतिनिधिलाई गालीगलौज गरी तोडफोड गर्ने व्यक्तिलाई पक्राउ गरी कारवाही नगरे सम्म वडा कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द हुने जानकारी गराएका छन्। विज्ञप्तीमा उनले वडाका जनप्रतिनिधी र कर्मचारीको सुरक्षाको प्रत्याभुतिको माग समेत गरेका छन्।

यस्तै प्रहरीले सामूहिक बलात्कारमा संलग्न भनिएका युवक क्वारेन्टिनमा स्वयसेवकको रुपमा खटिएको बताएपनि वडा कार्यालयले भने उनीहरु आफूखुसी काम गर्न क्वारेन्टिनमा गएको दावी गरेको छ।

वडाध्यक्ष बमले जारी गरेको विज्ञप्तीमा उक्त घटनाप्रती खेद समेत व्यक्त गरिएको छ भने दोषीलाई कारवाहीको दायरामा ल्याएर पीडितलाई न्याय दिन माग पनि गरिएको छ।

लम्कीचुहा नगरपालिका वडा नम्बर १ को शहिद स्मृती मावीको क्वारेन्टिनमा बसेकी ३१ वर्षीया युवतीमाथि शनिबार राती तीनजनाको समूहले जबरजस्तीकरणी गरेको आरोप लागेको छ। उनीहरुलाई प्रहरीले आईतबार पक्राउ गरिसकेको छ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विक रहेको प्रहरीले जनाएको छ। तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान भईरहेको छ। 

कमेन्ट लोड गर्नुस