सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमकी संक्रमित स्टाफ नर्स भन्छिन्, ‘कोरोनाको भन्दा समाजको डर छ’

२०७७ जेठ ३२, ०५:०८ आशिष मल्ल

धनगढी: शनिबार सुदूरपश्चिममा ६४ जनामा कोरोना भाइरस पुष्टि भयो। जसमध्ये एक ३३ वर्षीय स्वास्थ्यकर्मी पनि रहेकी छन्। २०६४ सालमा स्टार्फ नर्सको पढाइ सक्दा उनलाई लागेको थिएन की कहिले जिवनमा यो मोड आउला भनेर। पढाई सकेर ११ वर्ष जागिर गरीसकेकी उनलाई कोरोना छ भन्दा आफै छक्क पर्छिन। कोठामै आनन्दका साथ बसीरहेकी उनमा कोरोनाको कुनै लक्षण पनि छैन्। 

डडेल्धुरा अस्पतलामा उनका सहकर्मीले ‘कस्ता होलान है कोरोनाका बिरामी’ भनेर कुरा गर्र्दा ‘कस्ता होलान र ! हामीजस्तै होलान’ भनेर सम्झाउने उनीमा पनि कोरोनाका संक्रमित हेर्ने खुल्दुली नभएको भने होइन। तर लक्षणविनाको कारोना संक्रमित समेत हुँदारहेछन् भनेर उनको खुल्दुली चाहि मेटिएको छ। 

फ्रन्टलाइनर भनिने स्वास्थ्यकर्मी मध्येकी उनले कोरोनाले कतिबेला आक्रमण गरेको रहेछ भनेर आफैलाई पत्ता नभएको बताइन। ‘बेलाबेला समाचारमा सुन्दा कस्तो होला कोरोना भनेर साच्ने गर्थे,’ उनले भनिन्, ‘अहिले आएर आफैँ कोरोनासँगै लडिरहेकी छु।’ 

अस्पतालको वार्डमा कार्यरत उनलाई अस्पतालबाटै कोरोना भाइरस सरेको हो की भन्ने शंका लागेको छ। सबै स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गर्दागर्दै जेठ २३ गते टाउको र घाटी दुखेपछि उनले कोरोना भाइरस परीक्षणका लागि स्वाब दिएकी थिइन। उसो त डडेल्धुरा अस्पतालमा कार्यरत कर्मचारीको मेडीकलमा काम गर्ने एक स्वास्थ्यकर्मी, त्यसैगरी डडेल्धुरा अस्पतालमा सेवा लिन आएकी एक सुत्केरी र बिरामी भएर अस्पताल पुगेका डडेल्धुराका पहिलो संक्रमितको सम्पर्कमा आइयो की भनेरपनि उनले परीक्षणका लागि नमूना दिएकी थिइन। ‘२३ गतेतिर टाउको दुख्ने, घाटी दुख्ने भएको थियो र अस्पतालको सम्पर्कमा आएकाहरुमा कोरोना देखिएपछि मैले पनि स्वाब दिएको थिए’ उनले दिनेश खबरसँग भनीन। 

स्वाब दिएकै दिनबाट बिदामा बसेकी उनको रिपोर्ट पोजेटिभ भनेर एक हप्तापछि शनिबार आयो। ‘म घरमै थिए अस्पतालका मेुसु जगदिश विष्ट सरले मलाई कोरोना भएको जानकारी गराउनु भएको हो,’ उनले भनीन, ‘सुरुमा त डर लाग्यो तर लक्षण नदेखिएकाले उहाँले घरमै सेल्फ आइसोलेसनमा बस्न भनेपछि अलि ढुक्क भए।’ 

डडेल्धुरा अस्पतालमा विगत चार वर्षदेखि कार्यरत उनी श्रीमान र छोरासँगै सदरमुकामको किर्तिपुरमा बस्ने गर्थिन। तर कोरोना महामारी आएपछि छोरालाई घर पठाएकाले अहिले उनी श्रीमानसँग बस्दैछिन्। दिनमा पटकपटक तातोपानी पिउने गरेको बताउने उनी टेलिभिजन हेरेर र इन्टरनेट चलाएर समय कटाउँछिन्। ‘श्रीमानले स्याहार गरिरहनुभएको छ। बेलाबेला तातोपानी र खानेकुरा बनाइरहनुहुन्छ,’ उनले भनीन, ‘यसको संक्रमण भएमा आत्मबल बढाउने कोहि चाहिनेरहेछ। मलाई डर त फिटिक्कै लागेको छैन।’ उनको नजरमा आत्मबल र रोगप्रतिरोधात्मक क्षमता नै कोरोनाको औषधि हो। उनी भन्छिन, ‘सबैजना कोरोना भुत हो भने जसरी डराइरहन्छन् तर यो केहि नरहेछ। डराउनुपर्ने केहि छैन। आफ्नो आत्मबल बढाइ भोको नरहेर खानपिनमा ध्यान दिइ रोगप्रतिरोधात्मक क्षमता बढायो भने यो केही हैन, भन्छन नी डरके आगे जित है।’

विश्वमा कोरोनाले त्रास मच्चाएको सुन्दा सुरुमा उनलाई पनि कोरोनाको भयले सताएको थियो। तर अहिले कोरोनालाई सहजै जित्ने आँट गरेकी उनी सबैलाई मनोबल उच्च राख्न आग्रह गर्छिन। ‘सायद मैले कोरोना जितिसकेहोला नभए जितिहालौंला, म कन्फिडेन्स भएर बसेको छु।’

कोरोनाभन्दा समाजको डर 
कोरोनाका कारण देशभर लकडाउन भई सबै काम ठप्प भएका बेला ज्यानै जोखिममा राखेर बिरामीको सेवामा खटिएकी उनलाई समाजको हेर्ने दृष्टिकोणबाट भने डर लाग्छ। घरमा सासुलाई जानकारी नगराएको बताउने उनी रोगले भन्दा मानीसको हेर्ने नजरबाट कोरोनाले बढी असर गर्ने बताउँछिन्। 

‘कोरोना संक्रमितलाई फरक नजरले हेर्छन जसले गर्दा उसको मनोबल घट्छ र उसलाई धरै असर गर्छ,’ उनले भनीन, ‘कोरोना लागेका मानीस कस्ता हुन्छन् भनेर सबैजना चासो राख्छन्, उसको बारेमा जान्न खोज्छन, त्यसले संक्रमितलाई कमजोर बनाउँछ। तसर्थ समाजले उसलाई पनि समान व्यवहार गर्यो भने कोरोना जित्न सहज हुन्छ।’

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस