बाजुरामा क्वारेन्टाइनमा नअटाएपछि १८ महिने बच्चासहित पालको बास
बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकाको क्वारेन्टाइनमा बस्ने ठाँउ नभएपछि एक परिवारलाई पालमा राखिएको छ। नगरपालिकाको वडा नम्बर २ बजेडीमा रहेको बजेडी आधारभुत क्वारेन्टाइनमा ठाउँ नभएपछि १८ महिने बालिकासहित उक्त परिवार पालमा बसेको छ।
भारतबाट मंगलबार गाउँ पुगेका उनीहरुलाई विद्यालयको चौरमा पाल टांगेर राखिएको क्वारेनटाइनमा खटिएकी स्वास्थ्यकर्मी आशा थापाले बताइन। ५ वर्षदेखि परिवार भारतमा बसेको र कोरोनाले गर्दा घर फर्किएको रमेश लुवारले बताए। ‘९ जना परिवारसहित गाउँ आएको हौ, अहिले पालमा बसीरहेका छौं’ उनले भने, ‘बच्चापनि रहेकाले व्यवस्थापन भइदिए राम्रो हुनेथियो।’
उता वडा कार्यालयले कोठा नभएपछि पालमा राखेको बताएको छ। एकदुई दिनमा केहीको घर जाने समय भएकाले त्यसपछि पालमा बसेकाहरुलाई कोठामा सार्ने वडा कार्यलयले जनाएको छ।
भारतबाट बाजुरा आउनेको संख्या बढेपछि व्यवस्थापन गर्न समस्या भएको छ। बुढिगंगा नगरपालिकामा १ हजार २ सय ७८ जना क्वारेन्टाइनमा बसिरहेका छन्। जसमध्ये बजेडी आधारभुत विद्यालयको क्वारेन्टाइनमा ८५ जना बस्दै आएका छन्। ती मध्ये १४ बालबालिका रहेका छन्।
बाजुराका एक सय ३२ क्वारेन्टाइनमा ५ हजार ३ सय ३२ जना रहेका छन्। जसमध्ये ४ सय ७२ जना ५ वर्ष मुनिका बालबालिका रहेका छन्। जिल्लाको हिमाली गाउँपालिकामा ३ सय ४, स्वामिकार्तिक खापर गाउँपालिकामा २ सय ८० जना, जगन्नाथ गाउँपालिकामा ३ सय १८, बुढिनन्दा नगरपालिकामा ३ सय २, बडिमालिका नगरपालिकामा २ सय ७६, जनागौमुल गाउँपालिकामा ३ सय ४०, खप्तड छेडेदह गाउँपालिकामा १ हजार १ सय ९५, बुढिगंगा नगरपालिकामा १ हजार २ सय ७८ जना र त्रिबेणी नगरपालिकामा १ हजार ८३ जना रहेका छन्।
यसैगरी हालसम्म सुत्केरी तथा गर्भवती २० जना महिलाहरु क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। बाजुरा जिल्लाका क्वारेन्टाइनमा रहेका ५ हजार ३ सय ३२ जनामध्ये ४ हजार ४ सय १६ जना भारतबाट आएकाहरु क्वारेन्टाइनमा बसेको तथ्याङक रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।