सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनासम्बन्धी तथ्यांक सार्वजनिक गर्न ब्राजिललाई डब्ल्यूएचओको अपिल

२०७७ जेठ २७, ०८:५२ खबर संवाददाता

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना सम्बन्धी तथ्यांक सार्वजनिक गर्न ब्राजिललाई अपिल गरेको छ।

मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भइरहेको बेला ब्राजिल सरकारले कोरोना भाइरसबाट समग्र संक्रमित र मृत्युको तथ्यांक सार्वजनिक गर्न छाडेको छ। शनिबार ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको समग्र मृतक र संक्रमितको तथ्यांक हटाएर केवल पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित र मृतकको तथ्यांक मात्र राखिएको थियो। 

डब्ल्यूएचओले ब्राजिलको यस कदममा चासो दिँदै तथ्य र पारदर्शिता अपनाउँदै विवरणहरु सार्वजनिक गर्न भनेको हो। ब्राजिल कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा दोस्रो स्थानमा छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट ६ लाख ९१ हजार ७ सय ५८ जना संक्रमित छन् भने ३६ हजार ४ सय ५५ जनाको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा चासो नदिएको भन्दै ब्राजिल सरकारको आलोचना हुँदै आएको छ।

विश्व स्वास्थ्य संगठनका हेल्थ इमरजेन्सी प्रमुखले पत्रकारहरुसँग कुरा गर्दै भने– नागरिकहरुको सुरक्षालाई ध्यान दिँदै तथ्यांकमा पारदर्शिता अपनाउनुपर्छ र त्यसलाई सार्वजनिक गर्नुपर्छ। आखिर के भइरहेको छ भनेर जान्नु जरुरी रहेको बताउँदै उनले भने, भाइरस कहाँसम्म फैलिइसकेको छ भनेर पनि थाहा पाउनु आवश्यक छ। उनीहरुले यो संक्रमणलाई कसरी रोक्ने भनेर उपाय खोज्नुपर्छ।
 

कमेन्ट लोड गर्नुस