बाजुराको मार्तडी बजारमा म्याद नाघेका खाद्य वस्तु
बाजुरा : बाजुराको सदरमुकाम मार्तडी बजारमा म्याद नाघेका खाद्य बस्तुहरु बिक्रि हुनेगरेका पाइएको छ। बडिमालिका नगरपालिकाले आयोजना गरेको अनुगमनका क्रममा ती बस्तु भेटिएको उपप्रमुखक कविता बिष्टले बताइन।
नगरपालिकाले सोमबार हाटबजार र माथिल्लो बजार अनुगमन गरेको थियो। अनुगमनमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ लगायतको सहभागिता रहेको थियो। टोलीले मूल्यसूची, गुणस्तर मापन, विल दिने प्रक्रिया, निर्धारित मिति लगायतका ११ वटा मापदण्डका बारेमा अनुगमन गरेको थियो।
लकडाउनका समयमा कालोबजारी बढेको जनगुनासो आएपछि बजार अनुगमन गरिएको थियो। अनुगमन गरिएका अधिकांश पसलमा अखाद्य बस्तुहरु फेला परेका छन्। अनुगमका क्रममा पिठो, चाउचाउ, बिस्कुट, मसला, चनाको पिठो, तेल, पेयपर्दाथ, चक्लेट लगायतका म्याद नाघेका सामग्री बरामद गरिएको उपप्रमुख बिष्टले बताइन। प्रायः सामग्री ढुसी परेको अवस्थामा फेला परेको उनले बताइन।
उता स्थानीय व्यापारीले भनेआफुहरुलाई कुनै जानकारी नभएको र कम्पनिले नै त्यस्तै पठाएको बताएका छन्। वर्षाको समयमा सामान ढुवानी गर्न नसकिने अवस्थामा हिउँदमा सामान ढुवानी भएकाले बिक्रि नभएर ढुसी परेको उनीहरुले बताएका छन्।
जिल्लामा बढीजसो दशैं र तिहारका बेला अनुगमन हुने गरेको छ। तर अहिले लकडाउनका बेला व्यापारीहरुले कालोबजारी गरेको गुनासो आएपछि अनुगमन गरिएको हो।