धनगढीमा कोरोनाले मृत्यु भएकी महिलाको परिवारका सदस्यको समेत स्वाब संकलन भएन
धनगढी : धनगढीमा अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी महिलाको सम्पर्कमा आएका कसैको पनि स्वाब संकलन हुन सकेको छैन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ महिमा टोलकी ५५ बर्षीय महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि भएपनि उनको सम्पर्कमा आएका कसैको पनि स्वाब संकलन हुन नसकेको हो।
धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का अध्यक्ष दीपक थापाले स्वाब संकलनका लागि पटक–पटक आग्ह गर्दा समेत वेवास्ता गरिएको जानकारी दिए।
‘मलामी गएका र मृतक महिलाको सम्पर्कमा आएका व्यक्तिको खोजी भईसकको छ,’ अध्यक्ष थापाले भने, ‘तर परिवारका सदस्यको समेत परीक्षणका लागि स्वाब संकलन भएको छैन्।’
धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका अहेव लक्ष्मि उपाध्यायले पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न नसकिएको बताए।
‘धनगढीमा मात्रै आरडिटी पोजेटिभ देखाएका झण्डै ३० जनाको ६ दिनदेखि कोरोना परीक्षण हुन सकेको छैन्,’ उपाध्यायले दिनेश खवरलाई भने, ‘प्रयोगशालामा स्वाबको चाप धेरै भएको र तत्काल परीक्षण सम्भव नभएकाले स्वाब संकलन नगरिएको हो। महिमा टोलमा गएर ज्वरो परीक्षणको काम भने भईरहेको छ।’
मृतक महिलाको अन्त्येष्टिमा धनगढी उप–महानगरपालिका वडा नम्बर ४ सहित घोडाघोडी नगरपालिका वडा नम्बर ३ का ८ जना र बर्दोगोरिया गाउँपालिका वडा नम्बर २ का दुई जना गरी ४९ जना सहभागी भएका थिए।
मृतकलाई सेती प्रादेशिक अस्पताल सम्म लैजाने तथा उनको शव ल्याउने अटो चालक, आर्यघाट सम्म शव लैजाने ट्रयाक्टर चालक पनि सम्पर्कमा आएका थिए।
शुक्रवार दिउसो १२ बजे उनको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु थियो भने ती महिलाको शनिवार बिहान अन्त्येष्टि गरिएको थियो। शनिवार दिउसो मात्रै उनको मृत्यु कोरोना भाइरसका कारण भएको पुष्टि भएको थियो।