सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराबाट लिइएका नमूनाको रिपोर्ट एक हप्तासम्म पनि आएन

फाइल फोटो
फाइल फोटो
२०७७ जेठ २५, ०६:१२ प्रकाश सिंह

बाजुरा : बाजुराबाट स्वाब संकलन गरेर धनगढी पठाएको एक साता बितिसक्दा पनि रिपोर्ट आएको छैन।

गत आइतबार कोरोनाका कारण एक बालिकाको मृत्यु र निजकी आमालाई संक्रमण रहेको पुष्टि भएको थियो। उनीहरुसँगै धुरालसैन क्वारेन्टाइनमा बसेका, बसमा यात्रा गरेका, स्वास्थ्यकर्मी र प्रहरीको १९ गते स्वाब संकलन गरेर धनगढी पठाइएको थियो। स्वाब संकलन गरेर धनगढी प्रयोगशाला पठाएको भएपनि अहिलेसम्म रिर्पोट नै नआएको स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी अशोक सिंहले बताए। ‘रिपोर्ट आउँछकी भनेर पर्खिरहेका छौ, अझै एकदुई दिन लाग्नसक्ने भनीएको छ’ उनले भने। 

१९ गते १ सय ८७ जना, २२ गते २० जना र २३ गते ४४ र २४ गते ३ जना गरी जम्मा २ सय ५४ को स्वाब संकलन गरेर धनगढी पठाइएको भएपनि १९ गतेको पठाइएकाको रिपोर्ट हालसम्म नआएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। स्वाब संकलनको रिपोर्ट ढिला हुने र प्रयोगशालामा धेरै स्वाबको थुप्रो लागेपछि प्रदेश सरकारले ५ दिनसम्म स्वाब संकलन नगर्न जिल्लामा पत्रचार गरेको थियो। ‘पुरानै रिपोर्ट आउन बाँकी छ, आरडिटी पोजेटिभको स्वाब समेत संकलन गर्न सकिएको छैन’ स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने। 

यस्तै जिल्लामा १ सय ८ आरडिटी पोजेटिभ देखिएकाको स्वाब संकलन गर्ने कुनै अत्तोपत्तो नभएको पाइएको छ। ती सबैलाई सम्बन्धित क्वारेन्टाइनमा राखिएको छ। अहिले स्वाब संकलन गर्नका लागि भिटिएम अभाव रहेको समेत स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। सुदूरपश्चिम  प्रदेशको एउटा मात्रै प्रयोगशाला धनगढीमा रहेको छ। त्यहाँ धेरै चाप भएकाले रिपोर्ट ढिला आउने गरेको प्रदेश सरकारले जनाएको छ। तर एउटा मात्रै मेसिन भएपनि अर्को व्यवस्थापनका लागि प्रदेश सरकारले कुनै चाँसो नदेखाएको पाइएको छ।

बाजुरामा भारतबाट आएका ४ हजार ९ सय २९ जना १ सय २७ क्वारेन्टाइनमा बसिरहेका छन्। जसमा ४ सय ६ बालबालिका र २४ जना गर्भवती समेत रहेका छन्। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस