सुदूरपश्चिमका क्वारेन्टिनमा औलोका विरामी भेटिए, सबैको परीक्षण गर्न निर्देशन
धनगढी : सुदूरपश्चिम प्रदेशमा क्वारेन्टिनमा बसेका तीनजनामा औलो रोग देखिएको छ। भारतबाट फर्किएर कञ्चनपुर र डडेल्धुराका क्वारेन्टिनमा बसेका तीनजनामा औलो रोग देखा परेको हो।
स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ सम्पर्क व्यक्ति सिद्धराज भट्टले जिल्लाको लालझाडी गाउँपालिकाको भानु माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका दुईजनामा औलो रोग देखिएको बताए। उनीहरु दुवैजना भारतबाट फर्किएर क्वारेन्टिनमा बसिरहेका थिए।
यस्तै कृष्णपुर नगरपालिकाको देखतभुलीमा पनि भारतबाट फर्किएका पुरुषमा औलो रोगको संक्रमण देखिएको भट्टले बताए। डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ मा पनि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका युवकमा औलो देखिएको छ।
स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरीप्रसाद भट्टले करिब दुई साता पहिले भारतबाट फर्किएका पुरुषमा औलो रोग देखिएपनि निको भएर घर फर्किसकेको बताए।
यसैबीच क्वारेन्टिनमा बसिरहेकाहरुमा औलो रोगको संक्रमण देखिएपछि स्वास्थ्य निर्देशनालयले कोरोनासँगै औलोको समेत परीक्षण गर्न निर्देशन दिएको छ।
निर्देशनालयले मातहतका स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै क्वारेन्टिनमा बसिरहेकाहरुको कोरोनासँगै औलो रोगको आरडिटी परीक्षणको व्यवस्था मिलाउन भनेको हो।
निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले डडेल्धुरा र कञ्चनपुरमा औलो रोग देखा परेकाले समयमै रोगीको पहिचान गरी उपचार गर्दै समुदाय स्तरमा फैलिनबाट रोक्न अनिवार्य परीक्षणको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।