सेती अस्पतालमा सञ्चालित डायलासिस युनिट सिल गरिएपछि मृगौला पीडित समस्यामा
धनगढी : सेती प्रादेशिक अस्पतालमा बिरंग हेल्थ केयर प्रालीले सञ्चालन गरेको डायलासिस युनिटमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएपछि सेवा प्रभावित भएको छ।
शुक्रबार डायलासिस युनिटमा धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलाको मृत्युपछि कोरोना पुष्टि भएसँगै शनिबारदेखि युनिट सिल गरिएपछि अन्य सेवा प्रभावित भएका हुन्। डायलासिस युनिट सिल गरिएपछि नियमित रुपमा डायलासिस गराउँदै आएका मृगौला पीडित समस्यामा परेका छन्।
डायलासिस युनिटका व्यवस्थापक दीपक भट्टले शनिबारदेखि भोली सम्मका लागि वार्ड सिल गरिएको बताए। उनले युनिट सिल गर्दै संक्रमित महिलाको उपचारमा संलग्न स्वास्थ्यकर्मी एवंम् सम्पर्कमा गएका अन्य कर्मचारी समेत गरी ७ जनालाई क्वारेन्टिईनमा राखिएको बताउँदै सोमबार सम्मका लागि डायलासिस सेवा बन्द गरिएको जानकारी दिए।
तर भोलीबाट पुनः डायलासिस सेवा सुचारु गर्ने तयारी भईरहेको उनले बताए। व्यवस्थापक भट्टका अनुसार सेती प्रादेशिक अस्पतालमा सञ्चालित डायलासिस युनिटबाट ५५ जना मृगौला पीडितले नियमित डायलासिस सेवा लिदै आएका छन्।
शुक्रवार अस्पतालको डायलासिस वार्डमा भर्ना भएपछि मृत्यु भएकी धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो।
लामोसमयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित उनी पहिलो पटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिईन्। डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो।