सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षेनी सन्तान, स्वास्थ्यमा समस्या

फाइल फोटो
फाइल फोटो
२०७७ जेठ २५, ११:२९ रासस

कैलालीको टीकापुर–३ शङ्करपुरकी निर्मला भूलको पहिलो सन्तान एक वर्ष नपुग्दै दोस्रो सन्तान गर्भमा रह्यो। पहिलो सन्तान आठ महिनाको हुँदा गर्भ रहेपछि निर्मलालाई समस्या शुरु भयो। बच्चा पेटमा रहेदेखि निर्मलाको दूध आउन छाड्यो। “जसोतसो पहिलो बच्चा हुर्काउँदै दोस्रो जन्मियो। दुवै बच्चाको पालनपोषण र घरधन्दाले च्याप्यो”, निर्मला भन्छिन्, “दुवै सन्तानको राम्रो पालनपोषण भएन, बच्चा हेर्ने कि घरको काम गर्ने ? मेरो स्वास्थ्यमा पनि समस्या शुरु भयो।” निर्मलाले अहिले ढाड दुख्नेजस्ता समस्या रहेको बताए।

दुई सन्तान सँगसँगै हुर्कँदै गएकाले घरमा श्रीमतीलाई निकै समस्या भएको निर्मलाका श्रीमान् प्रकाश भूल बताउँछन्। “दूध चुसाउँदा दुवैसँगै चुस्न खोज्छन्”, उनले भने। बच्चाकै लागि भए पनि निर्मलासँग एक अर्काे व्यक्ति अनिवार्य घरमा बस्नुपर्ने भएकाले आफूले बाहिर काम गर्नसमेत जान नपाएको उनले बताए। “पहिले दुईजना थियौँ, अहिले चार भएका छौँँ”, प्रकाश भन्छिन्, “काममा जाउँ, श्रीमती एक्लै छिन्, नजाउँ घर कसरी चलाउनु? समस्या भएको छ।” 

टीकापुरकी पद्मा बोहराका श्रीमान् हाल रोजगारीको सिलसिलामा भारतमा छन्। पहिलो सन्तान सात महिनाको हुँदा पद्माको फेरि गर्भ रह्यो। दुवै बच्चा सँगसँगै हुर्कँदै गएकाले पनि घर व्यवहार र बच्चाको पालनपोषणमा समस्या भइरहेको पद्माले बताए। “श्रीमान् भारतमा छन्, मलाई दुई बच्चा हुर्काउन कठिन भएको छ”, पद्माले भनिन्, “जन्मान्तरमा ध्यान नदिएर लगातार बच्चा जन्माउँदा सुत्केरी अवस्थामा पनि स्याहार भएन, बच्चाले पनि सोचेजति स्याहार पाएनन्। आफ्नो स्वास्थ्यमा पनि समस्या देखिन थालेको छ।”

निर्मला र पद्मा मात्र होइनन् कैलालीको जोशीपुर–१ की सीता धामी पनि यही पीडामा छन्। श्रीमान् र सासू भारतमा भएकाले पनि सीतालाई सहयोग गर्ने कोही छैन। करिब एक वर्षको जन्मान्तर रहेका सन्तानको स्याहार गर्ने कि घरको काम गर्ने ? बर्सेनि सन्तान पाउँदा सीताको पाठेघरमा समस्या भएको छ। “चिकित्सकले पाठेघर अलि तल झरेको छ भन्नुभएको छ”, सीताले भने, “पेटको तल्लो भाग दुख्छ, काम गर्न सक्दिनँ, कतै श्रीमान्ले अर्को विवाह गर्छन् कि भन्ने चिन्ताले पिरोलेको छ।”

गाउँगाउँमा स्वयंसेविकाले परिवार नियोजनका सेवा दिइरहेका छन्। उनीहरूले अस्थायी साधन प्रयोगका लागि महिलालाई स्वास्थ्य संस्थासम्म पठाउने कार्य पनि गर्छन् तर पनि दम्पतीकै लापरवाहीले बर्सेनि बच्चा जन्माउने अभिभावक धेरै छन्। सामान्यतया अनिच्छित गर्भ रोक्न सुत्केरी भएको ४५ दिनभित्र अस्थायी साधन प्रयोग गर्नुपर्ने भए पनि अस्थायी साधनको प्रयोग नगर्दा बर्सेनि बच्चा जन्मिने गरेको महिला स्वास्थ्य स्वयंसेविका तारा सुनारले बताए।

आमा र बच्चाको उचित स्याहारका लागि जन्मान्तर आवश्यक हुन्छ, तर कैलालीमा बर्सेनि सन्तान जन्माएका आमा समस्यामा छन्। टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्का अहिले पनि ग्रामीण क्षेत्रमा ३० प्रतिशतसम्म आमाले बर्सेनि सन्तान जन्माउने गरेको बताउँछन्, “यसरी बर्सेनि बच्चा पाउँदा महिला शारीरिक, मानसिक र आर्थिकरूपमा कमजोर हुन्छन्, त्यसको असरले आमा बच्चा दुवै कुपोषित हुने गरेका छन्”, उनी भन्छन्।

अस्पतालले सुरक्षित गर्भपतन सेवासमेत दिइरहेको छ। स्टाफ नर्स खड्काले यसरी पहिलो बच्चा सानै हुँदा गर्भ रहेकालाई सुरक्षित गर्भपतन सेवाबारे जानकारी दिने गरेको बताए। “कतिपयले गर्भपतन सेवा लिन्छन्, कतिपयले सँगै हुर्काउँछु भनेर पाउने गरेको देखिन्छ।”

सन्तानबीचकोे जन्मान्तर तीनदेखि पाँच वर्षको हुनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् तर गाउँघरमा बर्सेनि सन्तान जन्माउने आमाहरू धेरै छन् । यसले महिलाको स्वास्थ्यमा विभिन्न समस्या आउने गरेको स्वास्थ्यकर्मी बताउँछन्। बर्सेनि गर्भवती हुँदा महिलाको पाठेघरको राम्रोसँग विकास भएको हँुदैन। यसबाट जन्मने बच्चा सुस्त मनःस्थितिको हुनुका साथै बच्चा खेर जाने सम्भावना बढी रहने स्त्रीरोग विशेषज्ञ डा सञ्जयकुमार दास बताउँछन्। उनी भन्छन्, “जन्मान्तर नहुँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्न सक्छ, त्यसकारण दम्पती र उनका परिवार सचेत हुन आवश्यक छ।”
 

कमेन्ट लोड गर्नुस