धनगढीकी कोरोना संक्रमित महिलाको मलामी गएका सम्पर्कमा, टोल सिल
धनगढी : धनगढीमा अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी महिलाको मलामी गएकाहरु सम्पर्कमा आएका छन्। अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी उप–महानगरपालिकाको वडा नम्बर ४ को महिमा टोलकी ५५ वर्षीया महिलाको मलामी गएकाहरु सम्पर्कमा आएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हिक्मत थापाले महिलाको मलामी गएका ४९ जना सम्पर्कमा आएको दिनेश खबरलाई बताए। थापाका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर ४ सहित घोडाघोडी नगरपालिका वडा नम्बर ३ का ८ जना र बर्दोगोरिया गाउँपालिका वडा नम्बर २ का दुई जना गरी ४९ जना उनको मलामी गएको पाईएको छ।
मृतकलाई सेती प्रादेशिक अस्पताल सम्म लैजाने तथा उनको शव ल्याउने अटो चालक, आर्यघाट सम्म शव लैजाने ट्रयाक्टर चालक पनि सम्पर्कमा आएका छन्। अहिले मृतकको बसोबास रहेको महिमा टोल सिल गर्ने विषयमा आवश्यक छलफल भईरहेको प्रहरी निरिक्षक थापाले जानकारी दिए।
शुक्रवार दिउसो १२ बजे उनको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी ती महिलाको आज बिहान अन्त्येष्टि गरिएको थियो। मोहना घाटमा उनको अन्त्येष्टि गरिएको तर कोरोना पुष्टिपछि मात्रै जानकारी पाईएको थियो। लामोसमयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित उनी पहिलो पटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिईन्।
डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो। मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको हो। मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गरीएको छ। मृतक महिला यसअघि काठमाडौँबाट उपचार गराएर फर्किएकी थिईन्।