सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वडा अध्यक्षका छोरा पक्राउपछि प्रहरी कार्यालय घेराउ

२०७७ जेठ २४, ०७:५३ खबर संवाददाता

धनगढी :  कैलालीमा भारतबाट फर्किएका नागरिलाई क्वारेन्टिनमा राख्न आग्रह गर्दा स्थानीयमाथि आक्रमण गरेको आरोपमा वडा अध्यक्षका छोरा पक्राउ परेपछि प्रहरी कार्यालय घेराउ गरिएको छ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ३ का अध्यक्ष नरवहादुर शाहका छोराले स्थानीयमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेपछि रिहा गर्नुपर्ने माग गर्दै ईलाका प्रहरी कार्यालय चौमाला घेराउ गरिएको हो। वडाध्यक्ष समर्थकहरुले आज दिउँसो ईलाका प्रहरी कार्यालय घेराउ गरेका हुन्।

घटनापछि चौमाला पुगेका ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर विष्टले अहिले दुवै पक्षबीच छलफल चलिरहेको बताए।

मुम्बईबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा राख्ने विषयमा भएको विवादका क्रममा  आज विहान वडा अध्यक्ष सहितका ३०, ४० जनाको समूहले चार जना स्थानीयमाथि हातपात गरिएको आरोप लागेको छ। वडाध्यक्षका छोराले समेत हातपात गरेको आरोपपछि प्रहरीले पक्राउ  गरेको छ।

प्रहरी नायब उपरिक्षक विष्टले वडाध्यक्षका दुई छोरालाई सोधपुछका लागि नियन्त्रणमा लिईएको बताए। वडा अध्यक्ष नरबहादुर शाहले भने स्थानीयमाथि भएको आक्रमणको विषयमा आफूलाई जानकारी नभएको बताउँदै आएका छन्। 

 

कमेन्ट लोड गर्नुस