सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा संक्रमितको संख्या ४६ पुग्यो, एक जनाको मृत्यु

२०७७ जेठ २४, ०७:०१ खबर संवाददाता

धनगढी : सुदूरपश्चिममै सबैभन्दा बढि कैलालीमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या कैलालीमा ४६ पुगेको छ। आज मात्रै कैलालीको गोदावरीका एक जनप्रतिनिधि, धनगढीकी ५५ बर्षीय मृतक महिला र गौरीगंगाका चार जना पुरषमा कोरोना पुष्टि भएको छ।

कैलालीमा सबैभन्दा बढि गौरीगंगा नगरपालिकामा १९ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै धनगढी उप–महानगरपालिकामा ९ जना, जानकी गाउँपालिकामा ८ जना, टीकापुर नगरपालिकामा ४ जना, लम्कीचुहा नगरपालिका २ जना, भजनी नगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकामा एक/एक जना कोरोना संक्रमित भेटिएका छन्।

संक्रमित मध्ये हाल सम्म नौँ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन्। प्रदेशकै पहिलो पटक चैत १४ गते कोरोना संक्रमण देखिएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष, त्यसपछि चैत २२ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, लम्कीका २१ बर्षीय युवक र  बैशाख १ गते संक्रमण पुष्टि भएकी लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिला कोरोनाई जितेर घर फर्किसकेका छन्।

जानकी गाउँपालिकाका ५ जना पनि कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। अन्यको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पतालको आईसोलेसन वार्ड र सम्बन्धीत क्वारेन्टाईनमै राखेर उपचार भईरहेको छ।

धनगढीकी ५५ बर्षीय संक्रमितको मृत्यु भईसकेको छ। धनगढीका दुई संक्रमित भने क्वारेन्टिनमै छन्। कैलालीपछि अछामका १५, कञ्चनपुरमा १३, डोटीका १०, डडेल्धुरा र बझाङमा ७/७, बैतडीमा ६, बाजुराका तीन र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ८८, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ। 

 

कमेन्ट लोड गर्नुस