सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई सातामा भारतबाट आएका २५ हजार भन्दा बढि नेपालीलाई खाना खुवाईयो

२०७७ जेठ २२, ०७:११ खबर संवाददाता

धनगढी : भारतबाट आएका नेपालीहरुका लागि नागरिकस्तरबाट धनगढीमा जारी खाना पानी अभियान अन्तर्गत दुई साताको अबधिमा २५ हजार ५ सय जना नेपालीलाई खाना खुवाईएको छ। आज धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी अभियानका अगुवा समाजसेवी श्याम तायलले २ साताको अबधिमा भारतबाट आएका २५ हजार ५ सय नेपाली र १ हजार ५ सय भारतीयलाई खाना खुवाएको बताए।

उनले आज भारतबाट आएका नेपाली र भारत जादै गरेका भारतीय नागरिक समेत गरी १ हजार ४ सय व्यक्तिलाई खाना खुवाएको जानकारी दिए। आज ज्योति स्टोरका सञ्चालक राजेन्द्र अग्रवाल र दीपक अग्रवालले पितृको सम्झनामा भारतबाट आएका ३ सय जना नेपालीलाई खानाका लागि सहयोग गरेका थिए।

त्यस्तै लायन्स क्लव अफ सुकृतिले ७५ कार्टुन मिनरल वाटर उपलब्ध गराएको थियो। उनले जेठ ७ गते शुरु गरिएको भारतबाट आएका नेपालीहरुलाई खाना र पानी खुवाउने अभियान आजदेखि स्थगित गरेको पत्रकार सम्मेलनमा जानकारी दिए। जतिखेर सीमानामा भारतबाट भोकभोकै आएका नेपालीहरुलाई खाना पानी सहयोग गर्न कुनै संस्था अग्रसर थिएन।

साथै खाना पानीको सहयोगका लागि सरकारको पनि उपस्थिति थिएन, त्यतिबेला हामीले नागरिक जिम्मेवारी बोध गर्दै यो अभियान शुरु गरेका थियौ, खाना पानी अभियान स्थगित गर्नुको कारण प्रष्ट पार्दै तायलले भने, यतिबेला सुदूरपश्चिम प्रदेश सरकारसंगै बिभिन्न संघसंघस्थाहरुले खाना र पानी खुवाउने अभियान सञ्चालन गरिरहेकोले खाना खेर नजाओस भन्ने उद्देश्यले हामीले यो अभियान स्थगित गरेका हौ।

उनले अभियान अन्तर्गत पर्पल फाउण्डेसनको सहयोगमा ८ सय महिलाहरुलाई सेनेटरी प्याड, सावुन, मास्क सहित हाईजेनिक प्याक वितरण गरेको बताए। हामीले यो अभियान अन्तर्गत भारतबाट आएका नेपालीहरुलाई खाना र पानी मात्र खुवाएनौ, उनले भने, बेखर्ची र गन्तव्यसम्म पुग्न साधनको व्यवस्था नभएका १९ जिल्लाका ५० जनालाई बसको व्यवस्था गरी गन्तव्यसम्म पु¥याउन सफल भयौ।

अभियानका अगुवा तायलले अभियानमा देश विदेशबाट सहयोग गर्ने सम्पूर्ण मनकारी व्यक्ति तथा संस्थाहरुप्रति आभार व्यक्त गरे। खाना पानीको यो अभियान बन्द गरेका होईनौ । स्थगित मात्र गरेका हौ, तायलले भने, फेरि पनि नेपाली दाजु भाई तथा दिदी बहिनीहरु भोक तथा तिर्खाले छटपटिएको देखेमा हामी जुनसुकै बेला यो अभियानलाई पुनः सञ्चालन गर्नेछौ।

जेठ ७ गते भारतका बिभिन्न शहरबाट आएका पाँचसय भन्दा बढि नेपालीहरु नवदुर्गा माध्यामिक विद्यालयमा भोक र प्यासले छटपटिरहेको सुनेपछि त्यही रातिबाट हामीले यो अभियान शुरुवात गरेका थियौ, अभियानको शुरुवातका बारेमा जानकारी दिदै तायलले भने, जेठ ७ गते मध्यराति हामीले उनीहरुलाई खाना र पानी उपलब्ध गरायौ। यसैगरी जेठ ८ गते राति पनि एक हजार जनालाई खाना र पानी खुवायौ।

मानवताका दृष्टिकोणले अप्ठ्यारोमा परेका र पानी र खाना खान नपाएर छटपटाईरहेका नेपाली दाजुभाईलाई सहयोग गर्ने पवित्र उद्देश्यले स्वस्र्फुतढंगले समाजसेवी श्याम तायल, चौलानी डिपार्टमेण्टल स्टोरका सञ्चालक मानसिंह साँउद, कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा र पत्रकार दीर्घराज उपाध्याय लगायतका व्यक्तिले थालनी गरेको यो अभियानलाई आजदेखि ह्युमानिटी फाउण्डेसनको नाम दिईएको छ।

तायलले अवदेखि ह्युमानिटी फाउण्डेसनका नामबाट विपत्तिमा परेका बेला सरकार र आम जनतालाई सक्दो सहयोग गर्ने जानकारी दिए। उनले फाउण्डेसनमा संसारभरी छरिएर रहेका सुदूरपश्चिमेलीहरुलाई समेत जोड्ने र त्यसको शुरुवात समेत गरीसकेको बताए।

 

कमेन्ट लोड गर्नुस