सुदूर नेपाललाई विश्वसँग जोड्दै

बयालपाटा अस्पतालले पूर्व जानकारी बिना ३३ कर्मचारी हटाएको आरोप

२०७७ जेठ २१, ०४:४० खबर संवाददाता

अछाम : अछाममा रहेको बयालपाटा अस्पतालले आर्थिक संकट परेको भन्दै ३३ जना कर्मचारीको जेठदेखि करार थप गरेको छैन। न्याय हेल्थ नेपाल नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले सञ्चालन गरेको उक्त अस्पतालले पूर्व जानकारी बिना कर्मचारी हटाएको गुनासो आएको छ। 

अस्पतालले कर्मचारी हटाउँदा विभेद समेत गरेको स्वास्थ्यकर्मीले आरोप लगाएका छन्। महामारीको बेला आफुहरुलाई जानकारी बिना जागिरबाट निकालेर अन्याय गरिएको एक स्वास्थ्यकर्मीले बताए। अस्पतालले आर्थिक अभावको कारण देखाउदै करार थप नगरिएको भनेर बाहिर सूचना निकालिएको भएपनि शक्ति र पहुँच भएकाहरुलाई नहटाएर कम तलब भएकाहरुलाई हटाइएको उनले बताए। 

उता बयालपाटा अस्पताल अछामका हेल्थ केयर डाइरेक्टर डा. विकास गौचनले भने विदेशबाट आउने अनुदान कम भएपछि थप करार सम्झौता गर्न नसकिएको बताएका छन्। ‘विदेशबाट आउने सहयोग कम भएको दुई वर्ष भयो। केन्द्र र प्रदेश सरकारलाई पटकपटक हारगुहार गर्दा पनि सहयोग पाइएन’ उनले भने। 

जानकारी बिना कर्मचारी किन हटाएको भन्ने प्रश्नमा उनी भन्छन, ‘करार सम्झौता थप गर्न नसकिने कुरा दुई महिना अगाडि उहाँहरुलाई नै खबर गरेका छौं। अनुशासन कामकारबाही, कार्य सम्पादन मूल्याकंनको आधारमा करार थप नगरेका हौं।’

कमेन्ट लोड गर्नुस