सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको प्रयोगशाला स्थापना गर्ने निर्णय दुई महिना सम्म कार्यान्वयन भएन

२०७७ जेठ २१, ११:३५ जनक विष्ट

धनगढी : सुदूरपश्चिममा छिमेकी भारत तथा कोरोना भाईरस प्रभावित क्षेत्रबाट फर्किनेहरुको संख्या बृद्धि भएसँगै विगतको तुलनामा अहिले परीक्षणको दायरा बढाईएको छ। तर प्रदेशको अस्थायी राजधानी धनगढीमा एउटा मात्र प्रयोगशाला हुँदा संकलीत नमूना लामो समय सम्म थन्क्याउनुपर्ने बाध्यता रहेको छ।

अहिले दैनिक बढिमा दुई सय  देखि दुई सय ५० जनाको परीक्षण गरिरहेको धनगढी प्रयोगशालाले नमूना संकलन भए अनुसार गति दिन नसकिएको  जनाएको छ। नमूना मात्रै संकलन गरेर पठाउँदा प्रयोगशालामा उपलब्ध  जनशक्ति एवंम उपकरणले परीक्षण गर्न नभ्याउने देखिएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला इन्चार्ज रमेश शाहीले प्रयोगशालामा अहिले नमूनाको चाप बढेको बताए।

उनले दैनिक बढिमा दुई सय ५० वटा नमूना परीक्षण भईरहेपनि जनशक्ति अभाव लगायतका कारणले गति दिन नसकिएको जनाए। प्रयोगशालामा नमूनाको चाप भएका बेला स्थानीय स्तरबाट थप संकलन गरी पठाएमा उपलब्ध जनशक्ति, एउटा मात्र पीसीआर मेसिनले नभ्याउने शाहीको भनाइ छ। ल्याब टेक्नीसियनहरुका अनुसार संकलीत नमूनालाई ७२ घण्टा भित्र परीक्षण गर्न सकेमा विश्वसनीय र सही रिर्पोट आउने सम्भावना धेरै हुने गर्दछ।

तर सुदूरपश्चिममा भने एउटा मात्र कोरोना परीक्षण प्रयोगशाला हुँदा संकलीत नमूनाले लामो समय सम्म परीक्षण नहुने समस्या देखिएको छ। पशुपन्छी अन्वेषण प्रयोगशालामा जडान गरिरहेको पीसीआर मेसिनलाई अहिले  दैनिक दुई सिफ्टमा  चलाउने गरिएको छ। सोही प्रयोगशालामा जनशक्ति र अर्को मेसिन थपेर २४ घण्टा चलाउन सकिए परीक्षणलाई तिव्रता दिन सकिने भएपनि वेवास्ता गरिएको छ।

प्रयोगशाला इन्चार्ज शाहीले अहिलेको अवस्थामा दैनिक २५० देखि तीन सय नमूना परीक्षण सम्भव भएपनि रिर्पोट पोजेटिभ देखिएको स्थितीमा पुनः परीक्षण गर्नुपर्ने हुँदा समस्या हुने बताउँछन्। पोजेटिभ नमूनालाई पुनः परीक्षण गर्दा अन्यको हकमा थप ढिलाई हुन्छ। २४ घण्टा नै प्रयोगशाला सञ्चालन गर्न थप जनशक्ति र मेसिन आवश्यक पर्ने उनले बताए।

एउटा मात्र मेसिनलाई २४ घण्टा चलाउँदा लोड धान्न नसकेर प्राविधिक समस्या आउन सक्ने जोखिम हुने भएकाले थप मेसिनको आवश्यकता पर्ने शाहीले बताए।  सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले चैत १५ मै कोरोना परीक्षणका लागि धनगढी सहित प्रदेशका तीन जिल्लामा प्रयोगशाला स्थापना गर्ने भनी गरेको निर्णय अझै कार्यान्वयन गर्न सकेको छैन्।

धनगढीमा अहिले सञ्चालनमा रहेको पीसीआर मेसिन पनि संघिय सरकारले नै पीसीआर मेसिन पठाएको थियो। प्रदेशले प्रयोगशालामा जनशक्ति व्यवस्थापन समेत नगरिदिएपछि समस्या भएको छ भने लामो समय सम्म संकलीत नमूना थन्क्याउनुपर्ने समस्याको समाधान गर्न पनि कुनै उदासिनता देखाईएको छ। अहिले देशभरकै प्रयोगशालाको अवस्था यस्तै भएको भन्दै थप जनशक्ति आपूर्ती गरेर २४ घण्टा नै प्रयोशगाला सञ्चालन गर्ने व्यवस्था मिलाईने दावी प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीको छ।

उनले सुदूरपश्चिममा जनशक्ति नभेटिएकाले संघिय सरकारलाई अनुरोध गरिएको बताए। सरकारले स्थापना गर्ने भनेका प्रयोगशालाका लागि उपकरण खरिदको प्रक्रिया सुरु भईसकेको बताउँदै उनले केही समय लाग्ने देखिएको बताए। सुदूरपश्चिममा भारतबाट फर्किएका आधा लाख बढिलाई क्वारेन्टाईनमा राखिएको छ।

उनीहरु सबैको कोरोना परीक्षण गर्नुपर्ने माग भईरहेका बेला प्रयोगशालामा जनशक्ति र अन्य उपकरणको व्यवस्थापन नभएको हो भने पीसीआर परीक्षणका लागि किटको व्यवस्थापनमा समेत सरकार गम्भीर नबनेको आरोप लागेको छ।

प्रदेशमा कुनै लक्षण नै नदेखिएकाहरुमा कोरोनाको संक्रमण बढि देखिएकाले स्थिती भयावह बन्न सक्ने भन्दै सबै व्यवस्था गरी परीक्षणलाई तिव्रता दिनुपर्ने सुझाव दिईएको छ। 
 

 

 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस