सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनमा व्यापार व्यवसाय सञ्चालन गर्ने धनगढीका व्यापारीको तयारी

२०७७ जेठ २०, १२:०१ कमल सावद

धनगढी : धनगढीका व्यापारीले लकडाउनमा समेत बजार खोल्ने तयारी गरेका छन्। कैलाली उद्योग वाणिज्य संघमा आज बिहान बसेको व्यवसायीहरुको बैठकले लकडाउनको कुनै औचित्य नभएको निष्कर्ष निकाल्दै निर्वाध रुपमा व्यापार व्यवसाय सञ्चालन गर्ने समझदारी गरेका हुन्।

उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले स्थानीय प्रशासनले जेठ २० गते सम्म पर्खिन आग्रह गरेको बताउँदै अन्तिम पटक फेरी व्यवसाय सञ्चालनका लागि आग्रह गर्ने बताए। तर प्रशासनले लकडाउनको निर्णय देखाएपनि कुनै हालत स्वीकार नगरी व्यापार व्यवसाय सुचारु गरिने उनको भनाई थियो।

‘हामीले पटक–पटक स्थानीय प्रशासन र उद्योग वाणिज्य महासंघसँग छलफल गर्दै आएका छौँ। आज अन्तीम दिन थियो। भित्र–भित्र व्यापार सञ्चालन भएको छ। सबैसंग हामीले छलफल गर्दै आएका छौ। आज पनि छलफल गर्छौ। उहाँहरुले नमानेपनि दिनभर व्यापार व्यवसाय सञ्चालन गर्छौ।’ उनले भने।  

छलफलमा सहभागी उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य गोपाल हमालले कोरोनाको त्रासले गरिएको लकडाउनका कारण भोकमरीको अवस्था आएकाले लकडाउनको प्रारुप फेर्नुपर्ने बताए। भोकमरीका कारण मजदुरले आत्महत्या गर्ने अवस्था आएको उनले बताए।

सरकारले व्यवसाय सञ्चालनका लागि मापदण्ड बनाउनुपर्ने उनको जोड थियो। उनले भने, ‘कोरोनासँग सँगै लड्ने हो। भागेर हुँदैन्। अर्थतन्त्र धरासयी भयो।’

हमालले थपे, ‘व्यापार बन्द गरेर मात्र कोरोना रोकिने हैन्। सरकारले कोरोना परिक्षण गर्न सक्दैन्। सुदूरपश्चिममा झण्डै ३० लाख जनसंख्या छ। दैनिक एक सय जनाको पनि परिक्षण हुदैन्। सबैको परिक्षण गर्न कति समय लाग्छ ?’  

छलफलमा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले प्रहरीले व्यापारीलाई पक्राउ गरेको भन्दै विरोध जनाए। उनले भने, ‘सरकारले योजनाहरु सञ्चालन गर्ने भनेको छ। बिना सिमेन्ट कसरी योजना सञ्चालन गर्न सकिन्छ? उहाँहरुलई हामीसँग जानु पनि भन्न सक्नु हुन्थ्यो। तर हार्डवयरका सामान बिक्रि गर्ने व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हामी भ्रत्र्सना गर्छौ। प्रशासनमा पनि हामी जान्छौँ। प्रमुख जिल्ला अधिकारीसँग बैठक गछौँ।’

भारतबाट फर्किने मजदुरहरुको तथ्यांक संकलन गर्न नसकेको र परीक्षणमा पनि सुस्त रहेको भन्दै उनले सरकारको आलोचना गरे। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस