संक्रमित बढ्दै गएपनि धनगढीको कोरोना अस्पताल सञ्चालन भएन
धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका संक्रमितको संख्या बृद्धि हुँदै गएका बेला कोरोना अस्पताल सञ्चालनमा भने ढिलाई गरिएको छ। प्रदेश सरकारको बजेटमा धनगढीमा निर्माण गरिएको कोरोना अस्पतालमा सञ्चालनमा ढिलाई भएको हो।
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि शैया अभाव भएपनि नयाँ अस्पताल सञ्चालनमा ढिलाई भएको हो।
स्वास्थ्य कार्यालय कैलालीले सेती प्रादेशिक अस्पताललाई प्रि–फ्याव सहितको आइसोलेसन भवन हस्तान्तरण गरेपनि आवश्यक उपकरण जडान गर्नै बाँकी रहेकाले ढिलाई भभएको सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए।
‘स्वास्थ्य कार्यालयले घर बनाएर हस्तान्तरण गरिसकेको छ,’ डाक्टर पाण्डेयले भने, ‘च्यानल गेट, खानेपानी व्यवस्थापन, सुरक्षा गार्ड राख्ने ठाउँ निर्माणसंगै केही उपकरण जडान पनि बाँकी छ। केही दिनमै काम सकिन्छ।’
सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदले गत चैत ११ गते कोरोना संक्रमितलाई राख्न ५०/५० शैयाका दुई कोरानो अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो।
सोही अनुसार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र महाकाली अस्पताललाई एक/एक करोड बजेट दिएको थियो। धनगढीको अस्पताल भवन हस्तान्तरण गरिएपनि महाकालीमा भने निर्माण समेत पूर्ण भएको छैन्।
प्रि–फ्याव प्रविधिको भवन निर्माण पूर्ण गर्न अझै एक साता लाग्ने महाकाली अस्पतालका मेसु डाक्टर हरिकुमार श्रेष्ठल बताए।
प्रदेशमा कोरोना संक्रमितको संख्या दैनिक बृद्धि हुँदै गएपनि प्रदेशमा नयाँ कोरोना अस्पताल सञ्चाल नभएपछि व्यवस्थापनमा समस्या हुने देखिाएको छ। गम्भीर अवस्थाका कोरोनाका विरामीको उपचारका लागि अन्य अस्पतालहरुमा समेत आईसियु भेन्टिलेटर लगायतका स्वास्थ्य उपकरण व्यवस्थापन गर्नुपर्ने बेला त्यो पनि हुन सकेको छैन्।