सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लकडाउनमै कमसल काम, ७ दिनमा भत्कीयो कालोपत्रे सडक

२०७७ जेठ १९, ०९:२३ रोशन भट्ट

धनगढी : धनगढीमा संघीय सरकारले कालोपत्रे गरेको सडक एक हप्तामै भत्कीन थालेको छ। संघिय सरकारको सघन सहरी विकास कार्यक्रम अन्तरगत दोस्रो प्याकेजमा कालोपत्रे भईरहेको धनगढी तारनगर हुदै दु्रत मार्गको धनगढी–स्याउले खण्ड जोड्ने सडक एक हप्तामै भत्कीन थालेको हो। लकडाउनमा हतार–हतारमा काम भईरहेको उक्त सडक अगाडी कालोपत्रे गर्दा पछाडीबाट भत्कीन थालेपछि कमसल काम भएको आशंका गरिएको छ।

निर्माणकै चरणमा रहेको सडक भत्कीन थालेपछि लकडाउनको मौकामा बजेट सिध्याउन निर्माण व्यवसायीले कमसल काम गरेको आरोप राजन चटौतको छ। ‘केही दिन अगाडी मात्रै कालोपत्रे सम्पन्न भएको उक्त सडक ठाँउ–ठाँउमा भत्कीन थालेको छ।’ उनले भने, ‘कालोपत्रेमा कतिसम्मको लापरवाही? कुनै मापदण्ड नै छैन्, सोझा नागरिकलाई भुल्याउने काम भईरहेको छ।’ सडक कालोपत्रे गरेको हप्ता दिनमै भत्कीएको हो। उक्त सडकमा सुरुदेखि नै कमसल काम भईरहेको आरोप स्थानीयको छ।

सोही कारण अहिले सडकमा सवारी साधन गुडाउँदा मात्र नभई पैदल यात्रा गर्दा समेत भत्कीरहेको छ। पानी पर्दा समेत कालोपत्रे बग्न थालेपछि सो सडक भएर सवारीसाधन सञ्चालन भए के होला? भन्ने प्रश्न स्थानीय लक्ष्मी शाहीको छ। ‘यो कालोपत्रे पानीले पनि बगाउदैछ।’ उनले भनिन्, ‘राम्रोसँग बनाईदिनु भन्दा पनि वेवास्ता गरे।, मान्छे हिड्दा पिच भत्कीरहेको छ यसमा सवारी साधन संञ्चालन भए के होला।’

धनगढीमा संघीय सरकारले निर्माण गरिरहेको दोस्रो प्याकेजको ४२ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लामा खड्का कृष्ण जेभीले पाएको छ। उक्त निर्माण कम्पनीले ४२ किलोमिटर सडक कालोपत्रे गर्नको लागि ८३ करोड ४३ लाखमा ठेक्का सम्झौता गरेको थियो। सोही प्याकेज अन्तरगत कालोपत्रे भत्कीएको सडक पनि पर्छ।

तारानगरदेखि दु्रत मार्गको धनगढी–स्याउले खण्ड जोड्ने ३४ मिटर सडक कालोपत्रे गर्नुपर्ने भएपनि अहिले सम्म १४ सय मिटर कालोपत्रे गरिएको छ। त्यसमा पनि केही स्थानमा कालोपत्रे कमजोर भएको निर्माण कम्पनीले स्वीकार गरेको छ।

निर्माण कम्पनीका ईन्जिनियर सचिव थापाले भने ‘काम गर्दै जादा केही स्थानमा समस्या भईहाल्छ, उक्त स्थानमा मर्मतको काम हुन्छ।’ सो सडक सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढी मार्फत निर्माण भईरहेको हो।

तर आयोजना कार्यालय सडकमा कमसल काम भईरहेको विषयमा बेखबर देखिएको छ। आयोजना प्रमुख परिक्षित कडरियाले उक्त विषयमा आफूलाई कुनै जानकारी नभएकाले बुझिरहेको प्रतिक्रिया दिए।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस