सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट बैतडी फर्किएका ४ हजार जना क्वारेन्टाइनमा

२०७७ जेठ १७, ०५:३६ खबर संवाददाता

विनोद सिंह विष्ट, बैतडी : बैतडीमा भारतबाट आएर क्वारेन्टाइनमा बस्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। भारतमा लकडाउन खुकुलो हुँदा भारतमा मजदुरी गर्न गएका नेपाली नागरिक धामाधम फर्किन थालेका हुन्। सीमामा अलपत्र पर्न थालेपछि नेपाल र भारत सरकारको समन्वयमा नागरिकलाई स्वदेश भित्र्याइन लागिएका हो।

बैतडीमा हाल ४ हजार १ सय बढी नागरिक क्वारेन्टाइनमा बसेका हुन्। बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवन जोशीका अनुसार जिल्लामा हाल ४ हजार १७२ जना क्वारेन्टाइनमा बसेका छन्। जसमा सबैभन्दा बढी शिवनाथ गाउँपालिकामा ८५८ जना क्वारेन्टाइनमा बसिरहेका छन्।

यस्तै मेलौली नगरपालिकामा ७१६, पञ्चेश्वर गाउँपालिकामा ६४६,पाटन नगरपालिकामा ३५४,दोगडाकेदार गाउँपालिकामा ३२९, पुर्चौडी नगरपालिकामा ३२८, दशरथचन्द नगरपालिकामा २९७, सुर्नया गाउँपालिकामा २८४,सिगास गाउँपालिकामा २४१ र डिलाशैनी गाउँपालिकामा ११६ जना क्वारेन्टाइनमा बसेका छन्।

उनीहरुलाई सुदूरपश्चिमका विभिन्न नाकाबाट उद्धार गरि ल्याईएको हो। उनीहरुको उद्धार गरिएपनि कोरोना परिक्षण नहुँदा संक्रमणको जोखिम बढ्दै गएको छ। १४ दिन अनिवार्य क्वारेन्टाइनमा बसेपछि उनीहरुको कोरोना परिक्षण हुने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

भारतबाट आएका बैतडीका ५ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ। उनीहरुमध्ये १ जनाको जिल्ला अस्पतालको आइसोलेसन र बाँकी ४ जनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस