सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको राजधानी धनगढीमै क्वारेन्टाईन व्यवस्थित नहुँदा जोखिम बढ्यो

२०७७ जेठ १७, १२:३१ कमल सावद

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमै रहेका क्वारेन्टाईन समेत व्यवस्थीत हुन नसकेको गुनासो गरिएको छ। धनगढी उप–महानगरपालिकाका विभिन्न विद्यालय र कलेजमा स्थापना गरिएका क्वारेन्टाईन व्यवस्थित नभएको गुनासो गरिएको हो। क्वारेन्टाईनमा खाना एवंम् पानीको उचित व्यवस्था नहुँदा समस्या छ भने व्यवस्थित नहुँदा जोखिम पनि उत्तिकै बढेको छ।

अघिपछि आएका सबैलाईसँगै राख्दा क्वारेन्टाइनबाटै संक्रमण फैलिने खतरा रहेको छ। भारतबाट फर्किएका ३९ जनालाई राखिएको कैलाली बहुमुखी क्वाम्पसको क्वारेन्टाईन समेत अस्तव्यस्त हुँदा जोखिम बढेको छ। उप–महानगरपालिकाले त्रिनगर सीमानाकाबाट उनीहरुलाई टिप्परमा कैलाली बहुमुखी क्याम्पस सम्म पुगाएको थियो।

तीन दिन पहिले सम्म राम्रो खान पाएका उनीहरुले अहिले भने सढेको खाना दिएको गुनासो गरेका छन्। क्वारेन्टाईनमा बसेका दीपक नेपालीले भने, ‘यहाँ बसेको १६ दिन भयो। सुरुका दिनमा राम्रो खाना आएको थियो। अहिले त खाना पनि राम्रो छैन्। बिरामीका लागि औषधी छैन्। सोध्न पनि कोही आँउदैनन्।’

भारतबाट फर्किएका झण्डै सात सयलाई धनगढी उप–महानगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिएको छ। केही क्वारेन्टाईनमा राखिएकालाई उप–महानगरापलिकाले विभिन्न संघसंस्थासंग मिलेर खानाको व्यवस्था गरेको छ भने, केहीले घरकै खाना खादै आएका छन्।

केहीलाई स्वास्थ्य समस्या देखिएको छ तर जाँचका लागि न स्वास्थ्यकर्मी छन् न औषधीको व्यवस्था गरिएको छ। वडा नम्बर ६ को बासुदेव माविको क्वारेन्टाईनमा बसेकाहरुले भने खाना समेत नपाएको गुनासो गरेका छन्। उनीहरुले घरबाट खाना खाँदै आएका छन्।

तर भारतबाट फर्किएकाहरुलाई कोरोनाको संक्रमण भएको हुन सक्ने भन्दै घर परिवारले पनि खाना ल्याउन नमानेको टिकाराम भट्टले बताए। कसैको स्वास्थ्य परीक्षण समेत नभएको उनले बताए।  

‘खानाको व्यवस्था पनि गरिएको छैन्,’ भट्टले भने, ‘घरबाट पनि खान आउँदैन्। घर परिवारमा पनि त्रास छ। कोठाहरुको पनि सरसफाई छैन्। सौचालय पनि फोहोर छ। सबैले एउटै प्रयोग गर्नुपर्ने छ।’ धनगढीका क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य परीक्षण समेत गरिएको छैन्।

र्यापिट टेस्ट गर्दा एन्टीबडी देखिएकारुको समेत ६ दिन हुँदा पनि पिसिआर रिर्पाेट आएको छैन्। कोरोना भाइरस (कोभिड–१९) को परीक्षणमा समेत वेवास्ता गर्दा संक्रमण फैलिने चिन्ता गरिएको छ। क्वारेन्टाइन व्यवस्थापनका संयोजक तथा धनगढी उप–महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले संघसंस्थाले  क्वारेन्टाईनमा रहेकाहरुलाई खाना खुवाएको बताए।

‘विभिन्न संस्थाहरुले खाना दिएका छन्। खानाको बारेमा गुनासो आएको छ। स्वास्थ्यकर्मीको समुह पनि दैनिक दुई पटक पठाउनेछौ।’ उनले भने। उनले स्वास्थ्यकर्मीको समुह पनि दैनिक दुई पटक क्वारेन्टाइनहरुमा पठाउने बताए।

अहिले सीमानाकाबाट स्थानीय प्रशासनले दैनिक नेपालीको उद्दार गरिरहेको छ। १०, १२ दिनअघि क्वारेन्टाईनमा राखिएका र हिजोआज आएका व्यक्तिलाई समेत संगै राखिएपछि झनै जोखिम बढेको गुनासो गरिएको छ। 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस