सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा प्रहरीको सडकमै बास

दीपायलको रामपुरमा सडकमै आराम गरिरहेका प्रहरी
दीपायलको रामपुरमा सडकमै आराम गरिरहेका प्रहरी
२०७७ जेठ १५, ०७:३० खबर संवाददाता

धनगढी : कोरोनाको संक्रमण र त्यसपछि नियन्त्रणका लागि जारी गरीएको लकडाउनमा अग्रमोर्चामा खटिएका प्रहरीको सडकमै बास हुन थालेको छ। सुदूरपश्चिमको साविकको क्षेत्रीय सदरमुकाम डोटी जिल्लामा खटिएका प्रहरीको सडकमै बास हुन थालेको हो।

गौरीफन्टा र गड्डाचौकी नाकाबाट भारतमा अलपत्र नेपालीको उद्धार सुरु भएपछि प्रहरी कर्मचारीले आफ्नो कार्यालय जानका लागि समेत फुर्सद पाएका छैनन्।

‘भारतमा अलपत्र दाजुभाईको उद्धार सुरु भएदेखि एउटै कार्यालयमा कार्यरत प्रहरीको समेत भेट हुन छोडेको छ,’ ईलाका प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायव निरिक्षक रमेश शाहीले भने, ‘खाना खाने समयमा मात्रै एक पटक भेट हुन्छ। बाँकी सयम सडकमै बिताईरहेका छौ।’

उनका अनुसार अहिले बस्ती भएको क्षेत्रमा भारतबाट आएकाहरुबाट कोरोनाको जोखिम बढेको भन्दै स्थानीवासीले गाडी समेत रोक्न अवरोध गरिरहेका छन्।

उनले भने, ‘वन क्षेत्रमा गाडी रोकेपछि भारतबाट फर्किएका नेपालीहरु फ्रेस हुने गरेका छन्। सो समयमा प्रहरी कर्मचारी पनि सडकमै सुतेर आराम गर्छन्।’

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक करन बोहराले पनि दरबन्दी अनुसार प्रहरी नहुँदा व्यवस्थापनमा समस्या थपिएको बताए।

‘डोटी जिल्लामा चार सय २६ जनाको दरबन्दी छ,’ उनले भने, ‘तर हामीसंग दुई सय २६ जना प्रहरी कर्मचारी मात्रै उपलव्ध छन्। उनीहरु मध्ये अहिले अधिकासं प्रहरीलाई क्वारेन्टाइनमा खटाईएको छ। भारतबाट फर्किएका नेपालीलाई गन्तव्य पुगाउन समस्या भईरहेको छ।’

कमेन्ट लोड गर्नुस