आज भारतबाट आएका २ हजार २ सय जनालाई खाना खुवाइयो
धनगढी : भारतबाट आएका नेपालीहरुका लागि खाना पानी सहयोग अभियान अन्तर्गत आज २ हजार २ सय जनालाई त्रिनगर नाकामा खाना खुवाइएको छ।
धनगढी उपमहानगरपालिका –२ स्थित नवदुर्गा माध्यामिक विद्यालयमा रहेका १ सय ५० जना र त्रिनगर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १ सय जना समेतगरि भारतबाट आएका २ हजार २ सय जनालाई समेत खाना खुवाईएको हो।
वेष्टर्न फार्मेसीका सञ्चालकद्धय प्रमोद शर्मा न्यौपाने र प्रेम बिसीका तर्फबाट १ हजार जनालाई, महावीर किराना स्टोरकी सञ्चालिका मिनाक्षी शर्माका तर्फबाट ५ सय जनालाई, राठी ईन्टर प्राईजेजका सञ्चालक सुरेन्द्र राठीका तर्फबाट २ सय जनालाई, व्यवसायी रतन बोत्राका तर्फबाट ३ सय, मारवाडी सेवा समितिका सत्यप्रकाश मोहपालका तर्फबाट २ सय जनालाई खाना खुवाईएको थियो।
त्यस्तै भारतबाट आएका नेपालीहरुका लागि मेरो श्रृंगारका सञ्चालक तथा युवा उद्यमी मञ्चका सदस्य सुरेन्द्र श्रेष्ठका तर्फबाट २ सय कार्टुन मिनरल वाटर र सुनिल चौधरीका तर्फबाट ९१ कार्टुन पानी वितरण गरिएको थियो।
समाजसेवी श्याम तायलको अगुवाईमा शुरु भएको भारतबाट आएका नेपालीहरुलाई खाना खुवाउने अभियान अन्तर्गत शुरुवाती दिनदेखि नै निरन्तर रुपमा भारतबाट आएका नेपालीहरुलाई खाना र पानी वितरण गरिदै आएको छ।
समाजसेवी तायलले भारतबाट नेपाली आउनेक्रम जारी रहेसम्म अभियान जारी रहने बताए। व्यक्तिगत खर्चमै कम्तिमा ५० हजार जनालाई खाना र पानी खुवाउने सोचका साथ यो अभियान शुरु गरेका हौ’ समाजसेवी तायलले भने, ‘पछिल्ला दिनमा थुप्रै मनकारी व्यक्तिहरु यो अभियानमा जोडिएर आर्थिक सहयोग उपलब्ध गराएका छन्। जसले हाम्रो मनबोल उच्च भएको छ।’
खाना पानी अभियानमा कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, चौलानी डिपार्टमेण्टल स्टोरका सञ्चालक मानसिंह साउँद लगायतको सहभागिता रहेको छ। पत्रकार दीर्घराज उपाध्यायले यो अभियानमा संयोजनकारी भूमिका निर्वाह गरिरहेका छन्। उक्त अभियानमा शुरुवाती दिनदेखि कैलाली हार्डबेयर संघका अध्यक्ष सुरेन्द्र राठीले सहयोग गर्दै आएका छन्।
अभियानमा बालाजी खाद्य उद्योगका सञ्चालक सम्पतलाल छाजेडले ३६ कट्टा चामल उपलब्ध गराएका छन्। उनले अभियान जारी रहेसम्म सहयोग गर्ने बताएका छन्। अभियानमा राउण्ड टेवल नेपाल, मारवाडी युवा मञ्चले समेत सहभागिता जनाएको छ।
धनगढीको चौलानी होटलमा सञ्चालित मेसमा भारतबाट आएका नेपालीहरुका लागि खाना पाक्दै आएको छ।