सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका तीन जना कोरोना संक्रमितको परिवारका सदस्यको समेत परीक्षण भएन

२०७७ जेठ १३, ०३:०३ खबर संवाददाता

धनगढी : कैलालीका तीन जना कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको परीक्षण गर्न प्रदेश सरकारले वेवास्ता गरेको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्वर ४ र ७ का १९, २३ र २६ वर्षीय युवकमा कोरोना पुष्टि भएको चार दिन भएपनि उनीहरुको सम्पर्कमा आएका व्यक्तिको परीक्षणमा वेवास्ता गरिएको हो।

‘तीन जना कोरोना संक्रमितलाई एक सातासम्म अन्य ४२ जनासंगै क्वारेन्टाइनमा राखिएको थियो,’ जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरीले भने, ‘पटक–पटक प्रदेश सरकारसंग परीक्षणका लागि आग्रह गरेका छौ। तर अहिलेसम्म स्वाब संकलन पनि भएको छैन्।’

उनका अनुसार प्रदेशका सामाजिक विकास मन्त्रीलाई पनि परीक्षणको लागि आग्रह गरिएपनि वेवास्ता गरिएको छ। अहिले संक्रमितसंगै क्वारेन्टाईनमा रहेका अन्यमा समेत त्रास बढेको छ भने गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मी समेत जोखिम मोलेर काम गरीरहेका छन्। 

तीन जना संक्रमित मध्ये दुई जना बाँके र इटहरीबाट फर्किएका थिए। उनीहरु लुकीछिपी घरमै बसेको सुचना पाएपछि जानकी गाउँपालिकाले प्रहरी लगाएर क्वारेन्टाइमा ल्याएको थियो।

जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महत्तोले भनिन्, ‘संक्रमित दुई जनालाई घरबाटै क्वारेन्टाइनमा ल्याएर स्वाब सकलन गरेका थियौँ। क्वारेन्टाइन अघि एक जना ४ दिन र एक जना एक दिन घरमै बसेका थिए। सो समयमा उनीहरु गाउँमा घुमेको पनि जानकारी आएको छ।’ तर परिवारका सदस्यको समेत अहिले सम्म परीक्षण हुन सकेको छैन्। 

संक्रमितको सम्पर्कमा आएको व्यक्तिको खोजी भईरहेको बताउँदै सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने, ‘कन्ट्रयाक्टर ट्रेसिङको काम भईरहेको छ। त्यसपछि मात्रै सबैको परीक्षणका लागि स्वाब संकलन हुन्छ।’

कमेन्ट लोड गर्नुस