सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टामा २२ सयको उद्धार, ७ हजारलाई खाना खुवाईएको दावी, समन्वय नहुँदा खेर जाँदै

२०७७ जेठ १३, ११:५० खबर संवाददाता

धनगढी : गौरीफन्टा नाकाबाट उद्धार गरिएका नेपालीलाई खाना खुवाउने क्रम बढ्दै गएको छ। प्रदेश सरकार, विभिन्न सामाजिक संस्था र विभिन्न व्यक्तिहरुले प्रत्येक दिन उद्धार गरिएका नेपालीलाई खाना खुवाउन थालेका हुन्।

तर खाना खुवाउने अभियानमा संक्रिय संस्था र व्यक्तिहरुबीच समन्वय अभाव हुँदा खाना खेर गईरहेको छ। सोमवार मात्र दुई हजार दुई सय २७ जना नेपालीको उद्धार गरिएकोमा सात हजार बढिलाई खाना खुवाईएको दावी गरिएको छ।

भारतबाट आएका नेपालीहरुलाई खानापानी उपलब्ध गराउने अभियान सञ्चालन गरिरहेको श्याम तायलको टीमले दुई हजार, रोयल कोल्याबेटिभ्सले सात सय ५०, सुदूरपश्चिम सरकार र सुदूरपश्चिम फाउण्डेसनले एक हजार पाँच सय, दृष्टि फाउण्डेसन र बोलन्या थलीले तीन सय ५०, होटल व्यवसायी संघले एक हजार एक सय र छठ पुजा समितिले एक हजार ६ सय जनालाई खाना खुवाएको दावी गरेका छन्।

उनीहरुको दावी अनुसार सोमवार मात्रै ७ हजार बढिलाई खाना खुर्वाइएको छ। तर जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्याङक अनुसार सोमवार दुई हजार दुई सय २७ को मात्रै उद्धार गरिएको छ। उद्धार गरीएका नेपालीको सङख्या भन्दा तीन गुणा बढिलाई खाना खुवाईएको दावी गरिएको हो।

खाना बढि भएपछि सोमवार साँझ मात्रै ८० भन्दा बढि खानाका प्याकेट सीमा क्षेत्रमै छोडिएको थियो। दानापानी अभियानमा संक्रिय यादव जोशीले व्यवस्थापन नहुँदा खाना खेर गईरहेको बताए। उनले सोमवार मात्रै छठ पुजा समिती र बोलन्या थलीले थप चार सय जनालाई तयार पारेको खाना खेर गएको बताए।

सुदूरपश्चिम फाउण्डेसनका सचिव विनय शाहले सीमामा ११ सय र बाँकी चार सय खाना क्वारेन्टाइन र विभिन्न क्षेत्रमा अलपत्र परेका नेपालीलाई खुवाईएको बताए। अलपत्र नेपालीलाई खाना खुवाउने अभियान एकद्वार प्रणालीबाट सञ्चालन भए सहज हुने धेरेको सुझाव छ। 
 

कमेन्ट लोड गर्नुस