सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका क्वारेन्टिन भरिभराउ

२०७७ जेठ १३, १०:४७ खबर संवाददाता

डोटी- डोटीका नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा भारतबाट आएका नागरिकले अहिले भरिभराउ भएका छन्। क्वारेन्टिनमा नागरिक भरिभराउ भए पनि सरकारी मापदण्डअनुसार निर्माण नहुँदा समस्या हुँदै आएको छ।

यहाँका क्वारेन्टिनमा शुद्ध पानीदेखि बस्ने सुत्ने तथा खाना पकाउनसमेत समस्या भएको क्वारेन्टिनमा राखिएकाको गुनासो रहेको छ। जिल्लामा कोरोना भाइरस कोभिड–१९ सम्बन्धी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले उल्लेख गरेअनुसार कुनै मापदण्ड कार्यान्वयन भएका छैन्। स्कूलमा रहेका बेञ्च टेबल जम्मा गरेर एकै श्यया (बेड) मा चारदेखि पाँच जनासम्म सुत्ने बनाइएका छन्। त्यस्तै क्वारेन्टिनमा राखिएका खुलमखुलारूपमा घुमफिर गरिरहेका छन्।

 उनीहरुलाइ घरभित्रै राख्न नसकिएका कारण समस्या उत्पन्न हुँदै आएको र उनीहरु मनपरि घुमिरहेको दिपाल पिपल्लाका स्थानीय समिर विष्टले बताए। उनले भने, “क्वारेनिटनमा सुरक्षा तथा उनीहरुलाई घरभित्रै नराखिएका कारण क्वारेन्टिनमा बसेका घर नदीमा जाने, बजार घुम्ने गरेका छन्, जसले गर्दा अरुलाई पनि समस्या हुने डर छ।” दिपायल, रानागाउँ, मौवा, तिखा, गड्सेरा, विपीनगरलगायत क्षेत्रका विद्यालयमा निर्माण गरिएका क्वारेन्टिन बस्ती नजिक भएकाले पनि समस्या हुने भन्दै स्थानीयवासीमा त्रास फैलिएको छ।

क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ मा बस्तीबाट टाढा हुनुपर्ने भनिएको छ तर जिल्ला सदरमुकाकै दिल्पेश्वर माविमा बस्तीभन्दा पाँच मिटर नजिकै घरहरु भएकाले कसैमा सङ्क्रमण भए अरुलाई पनि समस्या हुने भन्दै स्थानीयमा त्रास पैसा भएको दिपायलका स्थानीय गोविन्द जोशीले बताए। उनले भने, “वरिपरि बाक्लो बस्ती छ, त्यहीँनिर क्वारेन्टिन बनाइएको छ, क्वारेन्टिनमा राखिएका निवार्धरूपमा घुमिरहन्छन, कोही सङ्क्रमित भए त अरुलाई पनि सर्छ होला नि।” उक्त विद्यालयको क्वारेन्टिनमा मात्रै ७२ जना राखिएको छ।

यहाँका क्वारेन्टिनमा एकै कोठामा १० देखि १५ जना बस्ने गरेको स्थानीयवासीले जानकारी दिएका छन्। क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ मा सञ्चार, स्वास्थ्य, सडक, पानी, बिजुलीको पूर्ण व्यवस्था हुनुपर्ने भनिएको भए पनि कतिपय क्वारेन्टिनमा खानेपानी, विद्युत्, स्वास्थ्य, शुद्ध खानेपानीको व्यवास्थासमेत गरिएको छैन्। खाना कसले पकाउने क्वारेन्टिन बस्नेबीच नै कहिलेकाहीँ आपसमा विवाद हुने गरेको जोरायल गाउँपालिका–६ का स्थानीय लोकेन्द्र छेडालले बताए।

उनले भने, “खाना कस्ले पकाउने भन्ने विषयमा आपसमा विवाद हुन्छ, त्यो बेला सम्झाउने मान्छेसमेत हुँदैनन्।” विद्यालयका चिसो कोठामा राखिएको र कुनै पनि सुविधा नभएको क्वारेन्टिनमा बस्नेले गुनासो गर्दै आएका छन्। सबै व्यक्तिलाई हुलका हुल क्वारेन्टिनमा राखिएका कारण त्यहाँ समाजिक दूरीको पनि कसैले ख्याल नगर्ने गरेको विपीनगर क्वारेन्टिनमा राखिएका पदम धामीले गुनासो गरे। उनले भने, “पशुजस्तै हुलका हुल राखिएको छ, कसले गर्ने सामाजिक दूरी कायम, भगवान् भरोसामा बसेका छौँ।”

 त्यस्तै यहाँका क्वारेन्टिनमा राखिएकाको स्वास्थ्य जाँचसमेत गरिएको छैन्। क्वारेन्टिनमा अहिलेसम्म कुनै पनि स्वास्थ्यकर्मी नआएको उनीहरुको गुनासो छ। यतिमात्र नभइ यहाँका गाउँमा निर्माण गरिएका क्वारेन्टिनमा सुरक्षा उपस्थिति नहुँदा स्थानीय तथा जनप्रतिनिधि आफूलाई असुरक्षित महसुस गरिरहेका छन्। सुरक्षा व्यवस्थापन नहुँदा वडाध्यक्ष तथा सदस्यले क्वारेन्टिनमा रहेकालाई व्यवस्थान गर्न नसक्दा आफूलाई असुरक्षा महसुस गरिरहेको बताउँदै आएका छन्।

त्यति मात्र नभइ नजिकै घर भएकाहरु भागेर घर जाने सम्भावना रहेको उनीहरुको भनाइ छ। भारतबाट आउनेको सीमा क्षेत्रमै आरडिटी तथा पिसीआर परीक्षण गर्नुपर्ने जिल्लावासीको माग छ।रासस

कमेन्ट लोड गर्नुस