बैतडीका संक्रमित युवकको सम्पर्कमा आएका ३२ प्रहरी सहित ४६ जनाको स्वाब संकलन
बैतडी : बैतडीका कोरोना संक्रमित युवकको सम्पर्कमा आएका ३२ प्रहरी सहित ४६ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ।
बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले संक्रमित युवकको सम्पर्कमा आएका ३२ जना प्रहरी, जिल्ला अदालत र सरकारी वकिलको कार्यालयका कर्मचारी समेत गरी ४६ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको बताए।
उनले संकलित नमूना परीक्षणका लागि शनिबार नै धनगढी पठाईएको जानकारी दिए। जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका शिवनाथ गाउँपालिका २२ वर्षीय युवकमा शुक्रबार कोरोना पुष्टि भएको थियो।
कर्तव्य ज्यान मुद्दामा गत बैशाख १६ गते पक्राउ परेका युवकमा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको थियो। उनी गत चैत ६ गते भारतबाट फर्किएका थिए।
उनलाई अहिले जिल्ला अस्पतालको आईसोलेसनमा राखिएको छ।