सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमित भेटिएपछि कैलालीको मोतीनगर र जवलपुर गाउँ सिल

२०७७ जेठ १०, ११:२७ खबर संवाददाता

टीकापुर- कैलालीको जानकी गाउँपालिकामा कोरोना सङ्क्रमित देखिएपछि प्रशासनले कैलालीको टीकापुरमा लकडाउनमा कडाइ गरेको छ। जानकी गाउँपालिकासँग टीकापुर जोडिएको छ। जानकीमा सङ्क्रमित देखिएपछि टीकापुरमा थप जोखिम बढेको छ।

टीकापुर पनि जोखिममा रहेको भन्दै टीकापुर बजार बन्द गरिने तयारी प्रशासनले गरेको छ।  टीकापुर बजारमा मानिसकोे आवतजावत पूर्णरुपमा बन्द गरिने टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। सङ्क्रमित आएर गाउँमा समेत बसेकाले जानकी गाउँपालिका वडा नम्बर ७ को मोतीनगर र जवलपुर गाउँ सिल गरिएको उनले बताए। 

सङ्क्रमण पुष्टि भएका जानकीको मोतीनगर र जवलपुरका दुई युवामध्ये मोतीनगरका युवाको टीकापुर र मोतिनगरमा धेरै मानिससँग सम्पर्क भएको देखिएको भट्टले बताए। ‘सम्भावित जोखिम न्यूनीकरणका लागि लकडाउनमा कडाइ गर्न थालेका छौँ’, प्रहरी नायब उपरीक्षक भट्ट भन्छन, ‘प्रहरी र स्वास्थ्यकर्मी मिलेर सङ्क्रमितको सम्पर्कमा आएका मानिसको खोजी गरी उनीहरुलाई क्वारेन्टिनमा राख्ने तयारी भइरहेको छ।’

सङ्क्रमतिमध्ये बाँकेबाट फर्केका सङ्क्रमित युवा अरु चार जनासहित कोहलपुरबाट एम्बुलेन्समा टीकापुर आएको बुझिएको छ। उनी घर पुगेपछि पनि स्थानीय युवासँग तीन दिन भलिबल खेलेकोे, गाउँमा आफन्त र साथीभाइसँग घुलमिल भएको र टीकापुर बजारमा समेत साथीसँग भेटघाट गरेको बुझिएकाले उनीहरु सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ। सङ्क्रमित तीनै जनाको टीकापुर अस्पतालको आइसोलेसनमा राखेर उपचार शुरु भएको छ।

सङ्क्रमित सबैको अवस्था सामान्य छ। टीकापुर अस्पतालमा १२ शैयााको आइसोलेसन कक्ष छ। अवस्था जटिल भए बाहिर पठाउन सकिने भए पनि अहिले टीकापुरमै उपचार थालिने अस्पतालका डा.जितेन्द्र कँडेलले बताए।

जानकी गाउँपालिकाको क्वारेन्टिनमा ४५ जना थिए। तीन जनामा सङ्क्रमण देखिएपछि क्वारेन्टिनमा बसेका, उनीहरुको सुरक्षा, रेखदेखमा खटेका सबैको स्वास्थ्य परीक्षण गरिने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरीले जानकारी दिए। उनले भने, “रेन्टिनमा प्रत्यक्ष खटेका स्वास्थ्यकर्मी र स्वयंसेवक सेल्फ क्वारेन्टिनमा पठाएका छौँ, सङ्क्रमण देखिएपछि क्वारेन्टिनमा बसेका अन्य नागरिक पनि त्रसित छन्।” रासस

कमेन्ट लोड गर्नुस