सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक्स–रे सेवा पुनः सञ्चालनमा

२०७७ जेठ ८, ०६:४२

विनोदसिंह विष्ट, बैतडी : जिल्ला अस्पतालमा एक हप्तादेखि अवरुद्ध रहेको एक्स–रे सेवा पुनःसञ्चालनमा आएको छ। मेसिन बिग्रेर अवरुद्ध भएको एक्स–रे सेवा आजदेखि सञ्चालन भएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए। बिग्रिएको मेसिन मर्मतपश्चात् सञ्चालनमा आएको डाक्टर जोशीले बताए। 

हातखुट्टा भाँचिएमा र छातीको एक्स–रे गर्नका यसअघि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियो। एक्स–रे सेवा सञ्चालन भएसँगै उक्त सेवा लिनका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए। लकडाउनका बेला बाहिरी जिल्ला जानसमेत समस्या हुने गरेको भए पनि सेवा सञ्चालन हुँदा उक्त सेवा लिने बिरामीलाई सजिलो भएको छ। 

जिल्ला अस्पतालमा आकस्मिक कक्ष २४सैँ घण्टा, कोरोना क्लिनिक १०ः०० देखि ३ः०० बजेसम्म र ओपिडी सेवा पनि उपलब्ध रहेको जनाइएको छ।

शङ्कास्पद एक जना आइसोलेसन भर्ना 
कोरोनाका शङ्कास्पद एक युवकलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ। जिल्लाको दोगडाकेदार एक रिमका २५ वर्षीय युवकलाई आइसोलेसन भर्ना गरिएको जिल्ला अस्पतालका ल्याब अस्स्टिेन्ट चन्द्रसिंह डोबालले बताए।  

सिन्धुपलाञ्चोकबाट एक हप्ता अगाडि घर फर्केका ती युवकमा कोरोनाको शङ्कास्पद लक्षण देखा परेपछि आइसोलेसन भर्ना गरिएको हो। ती युवकमा बान्ता आउने, रिंगटा लाग्ने जस्ता लक्षण देखा परेपछि आइसोेलेसन भर्ना गरिएको जनाइएको छ। आइसोलेसन भर्ना भएका युवकको थ्रोट स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको जिल्ला अस्पतालका प्रमुख जोशीले जानकारी दिए।

छ जना डिस्चार्ज 
यसैबीच जिल्लामा हालसम्म सात जना आइसोलेसन भर्ना भएका भए पनि छ जनालाई घर पठाइएको छ। कोरोनाका शङ्कास्पद लक्षण देखापरेका र आरडिटी पोजेटिभ आएका आइसोलेसन भर्ना भएका थिए। घर पठाइएका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो। -रासस

कमेन्ट लोड गर्नुस