सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको स्वास्थ्य केन्द्रमा बृद्धको मृत्यु, चेकजाँच नगरी इन्जेक्सन लगाएको आरोप

देउलेख  प्राथमिक स्वास्थ्य केन्द्र
देउलेख  प्राथमिक स्वास्थ्य केन्द्र
२०७७ जेठ ७, १०:५९ खबर संवाददाता

बझाङ : बझाङको देउलेख  प्राथमिक स्वास्थ्य केन्द्रमा एक बृद्धको मृत्यु भएको छ। मंगलबार राती छाती र पेट दुःख्ने समस्या देखिएपछि स्वास्थ्य केन्द्रमा पुगाईएका बित्थडचिर गाउँपालिका वडा नम्बर ९ का ७२ वर्षीय कालुराम बिकको मृत्यु भएको हो।

प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको असावधानी र लापरवाहीले बिकको मृत्यु भएको पीडित पक्षले आरोप लगाएको छ। मृतकका छोरा शेरसिंह बिकले छाती र पेट दुःख्ने समस्या देखिएपछि उपचारका लागि स्वास्थ्य केन्द्रमा लैजादा इमरजेन्सी वार्डमा रहेका अहेव रामबहादुुर बोहराले ब्लड प्रेसर समेत परीक्षण नगरी सोझै ४÷५ वटा इन्जेक्सन लगाएपछि मृत्यु भएको बताए।

उनले कालुराम घरबाट हिडेरै स्वास्थ्य केन्द्र सम्म पुगेपनि अहेवले समान्य परीक्षण समेत नगरी इन्जेक्सन लगाएपछि मृत्यु भएकाले स्वास्थ्यकर्मीले लापरवाही गरेको आरोप लगाए।

यस्तै घरबाट उपचारका लागि लेजादै गर्दा स्वास्थ्य केन्द्रका डाक्टर सन्दिप ओलीलाई सम्पर्क गर्दा डिउटीमा रहेका स्वास्थ्यकर्मीले उपचार गर्ने भनेको बताए।

उनले अस्पतालकै आवासमा बसेका डाक्टर ओली बोलाउँदा समेत परीक्षणका लागि नआएको आरोप समेत लगाएका छन्। 

डिउटीमा रहेका स्वास्थ्यकर्मी मदिरामा लठ्ठ भएको आशंका 

उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पुगाउँदा बृद्धलाई समान्य स्वास्थ्य परीक्षण समेत नगरी ४÷५ वटा इन्जेक्सन लगाउने अहेव बोहरा मदिरामा लठ्ठ भएको आशंका गरिएको छ।

मृतकका छोरा शेरसिह बिकले आफ्नो बुबाको कुनै परीक्षण नगरी इन्जेक्सन लगाउने अहेव बोहराको मुखबाट त्यती बेला मदिराको गन्ध आईरहेको बताए।

तर उनले ठोकुवा गर्न नसकेपनि मदिरा सेवन गरेर जथाभावी इन्जेक्सन लगाउँदा आफ्नो बुबाको मृत्यु भएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। यसैबीच स्वास्थ्यकर्मीको लापरवाहीले बिकको मृत्यु भएकाले दोषीलाई कारवाही र क्षतीपूर्तीको माग गरिएको छ।

मृतकका छोरा शेरसिहले दोषीलाई कारवाही र क्षतीपूर्ती नपाउँदा सम्म शव नउठाउने बताए। बित्थडचीर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बोहराले घटनाका विषयमा छलफल गर्न बैठक बसेको बताए।

उनले पीडित पक्ष र प्राथमिक स्वास्थ्य केन्द्र लगायतका सरोकारवाला पक्षसँग छलफल भईरहेको जानकारी दिए। 

 

कमेन्ट लोड गर्नुस