सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा नगरप्रमुख र वडाअध्यक्ष कुटेको आरोपमा ८ जना पक्राउ

२०७७ जेठ ६, ०३:५९ खबर संवाददाता

बैतडी : बैतडीमा नगरप्रमुख र वडाअध्यक्ष कुट्ने आठ जना पक्राउ परेका छन्।  जिल्लाको पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवर र दोगडाकेदार गाउँपालिका ७ का वडाअध्यक्ष भरत महरामा माथि हातपात गरेको भन्दै आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

नगरप्रमुख कुँवरमाथि सोमबार अपरान्ह कार्यकक्षमै कुटपिट गर्ने ईलाका हुलाक कार्यालयमा कार्यरत दिलबहादुर धानुक र हातपात र कार्यालयमा क्षती गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। धानुकसहित स्थानीय रमेश धानुक, पुस्कर धानुक र चन्द्र भण्डारीलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए। 

कर्मचारी धानुकमाथि सोमबार जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्धागरी अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिसकिएको छ। उता दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष भरत महरामाथि हातपात गरेको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। सोमबार स्थानीय सिल्लेगडा बजारमा वडाअध्यक्ष महरालाई कुट्ने कृष्ण जोशी, हरी जोशी, नरिनराज जोशी र राजिब धामीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साँउदले जानकारी दिए। 

लकडाउनको उल्लंघन गर्दै गाडी चलाएको भन्दै युवाहरुलाई वडाअध्यक्ष महराले रोक्न खोज्दा विवाद उत्पन्न थियो। कुटपिटबाट वडाअध्यक्ष घाइते भएका छन्। घाइते वडाअध्यक्षलाई उपचारको लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस