धनगढी उप–महानगरपालिकाको राहत ठेक्कामा थियो उपमेयरको असहमती !
धनगढी : राहतमा कुहिएको र किरा परेको चामल वितरण गरेपछि अहिले धनगढी उप–महानगरपालिका विवादमा तानिएको छ। अख्तियारले छापा हान्दै खरिद प्रक्रियाका कागजात नियन्त्रणमा लिएको छ भने विस्तृत अध्ययनक लागि टिप्पणी उठाएर केन्द्रमा पठाउने तयारी भईरहेको छ।
संकटको समयमा पनि उप–महानगरपालिकाले कुहिएको चामल बाडेर जनस्वास्थ्यमाथि खेलवाड गरेको आरोप पनि लगाएका छन्। रातहको ठेक्कामा आपूर्तिकर्तासंग उप–महानगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीको मिलोमतो रहेको आशंका पनि गरिएको छ।
१४ गते सम्म बोलपत्र दर्ताको समय राखेर दुई दिन अगाडि नै १२ गते ठाकुर ट्रेड लिंक मुल्याङकनमा सफल भएको भन्दै टिप्पणी उठाएको खुलेपछि ठेक्कामा मिलोमताको आशंका झनै बढेको छ।
यता धनगढी उप–महानगरपालिकाकी उपमेयर सुशिला मिश्र भट्टको भने खरिद प्रक्रियामा सुरुवात देखि नै असहमती रहेको समाचार स्रोतले दावी छ।
खरिदको निर्णयमा मेयर नृप वहादुर वड, प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटा, स्टोर शाखा प्रमुख कृष्ण प्रशाद जोशी, खरिद शाखा प्रमुख नरेन्द्र कार्की, प्रशासन शाखा प्रमुख नारायण प्रशाद शर्मा, बरिष्ठ लेखा अधिकृत डिल्लीराज ओझा र लेखा शाखा प्रमुख सरस्वती जोशीले मनासिव छ र हुन्छ भन्दै हस्ताक्षर गरेका छन्।
तर बैठमा उपस्थित भएर पनि उपमेयर मिश्रले भने हस्ताक्षर गरेकी छैनन्। ‘उपमेयरलाई पटक–पटक हस्ताक्षर गर्नका लागि आग्रह गरिएको थियो। तर उपमेयरले अस्विकार गरेपछि प्रमुख प्रशासकिय अधिकृत र उपमेयरबीच विवाद समेत भएको थियो।’ उप–महानगरपालिकाकै एक जना कर्मचारीले दिनेश खवरलाई भने।
यता उपमेयर मिश्रले भने खरिदको निर्णय र ठेक्का सम्झौता लगायतका प्रक्रिया कर्मचारीले गर्ने भएकाले आफुले हस्ताक्षर नगरेको बताईन्। तर ठेक्का सम्झौतामा पनि मेयर वडको हस्ताक्षर रहेको छ। मेयर वडकै रोहबरमा ठेक्का सम्झौता गरिएको छ भने उप–महानगरपालिकाका तर्फबाट पाँच जना कर्मचारी साँक्षी बसेका छन्।
राहतमा कुहिएको चामल वितरण भएपछि बसेको कार्यपालिका बैठमा पनि वडा अध्यक्षहरुले संकटको समयमा विवादमा ल्याउने काम भएको भन्दै विरोध जनाएका थिए। उनीहरुले ठेक्कामा मिलोमतो र आर्थिक चलखेल भएको हुन सक्ने भन्दै छुट्टै छानविन समितिको माग गरेका थिए। तर कार्यपालिका बैठकले भने उप–महानगरपालिकाकै जनप्रतिनिधि सम्मिलित छानविन समिति गठन गरेको थियो।